बारा २९ वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् । एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३ बस्ने २७ वर्षीय अनिल पटेल कारबाहीमा परेका हुन् ।
करोना संक्रमण नियन्त्रण र रोकथामका लागि देशभर लकडाउन चलिरहेको समयमा एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई दुई दिनअघि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतीय ब्यक्तिलाई एम्बुलेन्समा राखी नेपाल प्रवेश गराउँदै गरेको अवस्थामा बोर्डर आउटपोष्ट बरैनियाको टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतको पटना घर भई काठमाडौंमा बस्ने ४५ वर्षीय अमृत कुमारलाई उनीहरुले बारा विश्रामपुर गाउँपालिका-३ स्थित मुसर्वा नाकाबाट नेपाल प्रवेश गराएका थिए । एम्बुलेन्ससहित नियन्त्रणमा लिई सशस्त्र प्रहरीले प्रहरी चौकी बलिरामपुरको जिम्मा लगाएको थियो ।
भारतीय नागरिकलाई भने भारतीय समकक्षी एसएसबी ४७ बटालियन डि कम्पनीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले जानकारी दिए । ‘बिरामी बोक्ने एम्बुलेन्समा भाडा लिएर भारतीय यात्रुलाई सीमा नाका कटाउन खोजेका रहेछन्,’ उनले भने, ‘हामीले नियन्त्रणमा लिएर भारतीय नागरिकलाई समकक्षीको जिम्मा लगायौं, एम्बुलेन्स चालकसहित दुई जनालाई कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगायौं ।