वीरगञ्ज, बैशाख १४ - सत्तारुढ नेकपा निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाने वर्ग मर्कामा परिरहेको र स्थानीय सरकारले वितरण गरेको राहत विभेदपूर्ण रहेको भन्दै वास्तविक पहिचान गरेर मात्रै राहत वितरण गर्न माग गरेको छ ।
अहिले चुनावका बेला प्रचारबाजी गरे जसरी राहत वितरणको काम भइरहेको भन्दै आफ्ना कार्यकर्ता भन्दा पनि वास्तविक पीडित वर्गलाई राहत दिनुपर्ने समय रहेको संघले जनाएको हो । संघ पर्साका संयोजक महम्द निजामुदिनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गर्नु भएको हो ।
उहाँले यो महामारीका बेला सबैले मानवतालाई ध्यानमा दिएर अघि बढ्नु जरुरी रहेको पनि बताउनुभयो । राजनीतिक माहोलका बेला पार्टीगत प्रचार प्रसार गर्न आग्रह गर्दै उहाँले अहिले महामारीका बेला त्यो अवस्था नरहेको भन्दै सबैले आ आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।