वीरगञ्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिवलाई घरायसी सहयोगीका रूपमा नभई संसदीय कामलाई प्रभावकारी बनाउने दक्ष र सक्षम व्यक्तिका रूपमा छनोट गर्नुपर्ने बताएका छन्।
आइतबार पार्टीको संसदीय विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले स्वकीय सचिव सूचना प्रविधिमा दक्ष हुनुका साथै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न सक्ने क्षमता भएको व्यक्ति हुनुपर्नेमा जोड दिए।
उनले सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा व्यक्तिगत वा घरायसी कामका लागि नभई संसदीय जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न सहयोग पुर्याउने, राजनीतिक चेतना भएको र आधुनिक प्रविधिको प्रयोग गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए।
‘स्वकीय सचिव राख्नु आवश्यक र स्वाभाविक हो। तर, स्वकीय सचिव छनोट गर्दा आफ्नो संसदीय कामलाई प्रभावकारी बनाउन सक्ने व्यक्ति रोज्नुपर्छ। घरायसी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष र एआईको प्रयोग गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्छ,’ पोखरेलले भने।
महासचिव पोखरेलले भर्चुअल दुनियाँको प्रतिस्पर्धामा एमाले पछाडि परेको टिप्पणी गर्दै सूचना प्रविधि र डिजिटल माध्यमको महत्व तीव्र रूपमा बढिरहेको उल्लेख गरे। उनले संसदभित्र राखिएका धारणा, बहस र गतिविधिलाई डिजिटल माध्यममार्फत प्रभावकारी रूपमा जनतासम्म पुर्याउन सक्ने जनशक्ति आवश्यक रहेको बताए।
उनले सबै सांसदको रुचि, क्षमता र दक्षता समान नहुने भएकाले विषयगत ज्ञान र विशेषज्ञताका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने तथा नेतृत्व विकास गर्ने अभ्यास आवश्यक रहेको पनि बताए।
‘पदीय मर्यादाक्रमलाई मात्र आधार नबनाई विषयवस्तुको ज्ञान, दक्षता र अनुभवका आधारमा नेतृत्व गर्ने अभ्यास विकास गर्न सक्यौं भने संसदको काम अझ प्रभावकारी बन्न सक्छ,’ उनले भने।
पोखरेलले सांसदहरूलाई आफ्नो रुचि, ज्ञान र विशेषज्ञताका आधारमा संसदमा बोल्ने अवसर प्रदान गरिए प्रस्तुतिको गुणस्तर र प्रभावकारिता थप बढ्ने विश्वास व्यक्त गरे।