वीरगञ्ज, चैत्र २८ - कोरोनाभाइरसको प्रकोप विश्वभरी बढिरहेको छ । छिमेकी देश भारतमा पनि भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
पछिल्लो समय भारतमा मुस्लिमहरुको संगठन ‘तबलीगी जमात’को एक धार्मिक कार्यक्रम भएपछि ठूलो संख्यामा संक्रमण फैलिएको छ । यो कार्यक्रमपछि तबलिगी जमातसँग सम्बद्ध व्यक्तिहरु ठूलो संख्यामा संक्रमित पाइएका छन् । यो कार्यक्रममा नेपालबाट पनि मुस्लिमहरु गएका थिए । उनीहरुलाई नेपालमै क्वारेन्टाइनमा राखिएको छ ।
यही बीचमा नेपालसँग सीमावर्ती भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक नेपालीले भारतमा कोरोनाभाइरसको संक्रमण फैलाउने योजना बनाइरहेको भन्दै आफू मातहतका निकायमा निर्देशन सर्कुलर गरेका छन् ।
उनले आफूलाई नेपाल भारत सीमामा तैनाथ सीमा सुरक्षा बलले एक नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाएको भन्दै रिपोर्टिङ गरेको पत्रमा उल्लेख गरेका छन् ।
पुलीस अधीक्षक, अनुमंडल पदाधिकारी र प्रखण्ड विकास अधिकारीलाई पठाइएको पत्रमा पर्सा जिल्लाका जालिम मुखिया नामका एक नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाइरहेको उल्लेख छ । पत्रमा जालिम मुखिया नेपाल र भारतमा अवैध हतियार तस्करीमा सहभागी भएको पनि आरोप लगाइएको छ ।
मुखिया पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष समेत हुन् । उन असलि नाम जालिम मियाँ हो । नेपालको एक निर्वाचित जनप्रतिनिधिमाथि लागेको यो ठुलो आरोप हो ।
यता जालिम मियाँले आफुमाथि लागेको आरोप निराधार र झुटो भएको बताएका छन् । आफ्नो चरित्र हत्या गर्ने गरि प्रशारित समाचारप्रति प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई जानकारी गराइसकेको भन्दै उहाँले वीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासमा पनि यसबारे जानकारी लिने बताउनुभयो ।
अहिले विश्व नै कोरोनाको संक्रमणबाट कसरी जोगिने भनेर लागिरहेका बेला आफूले फैलाउने भन्ने बारे सोच्न पनि नसकिने भन्दै उहाँले आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रशारण गर्ने भारतीय सञ्चारमाध्यमलाई कारवाही गर्न महावाणिज्य दूतावासमार्फत माग गर्ने पनि बताउनुभयो ।
भारतको पश्चिम चम्पारण, बेतिया (बिहार) जिल्ला पदाधिकारी विश्वास भाजनले आफू मातहत रहेका प्रहरीलाई पठाएको गोप्य पत्रमा ४०/५० जना कोरोनाका संकास्पद बिरामी मियाँले भारत पठाएको दावी गरिएको छ । साथै पत्रमा सीमामा सतर्कता बढाउन र कुनै पनि प्रकारको संदिग्ध गतिविधि गर्न नदिन पनि प्रहरीलाई निर्देशन दिइएको छ ।
https://www.youtube.com/watch?v=f0Rjv6fGTDk&fbclid=IwAR3OUKLSC6wxFtL-5hymRxhdFC6wqpZobzMinhxNdLMV0DGoGYZc_krFL98
https://www.facebook.com/nepalpostdaily/videos/675555263274482