वीरगञ्ज, चैत्र २१ – लकडाउनको बेलामा वीरगञ्ज महानगरपालिकाको वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा अज्ञात समूहले चोरी गर्नुका साथै आगो पनि लगाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ को वडा कार्यालय भवन र सँगै रहेको स्वास्थ्य चौकी भवनमा चोरी गर्नुका साथै आगजनी गरिएको प्रहरीले जनाएको छ ।
वडा कार्यालयमा रहेको दराजमा आगो लगाउनुका साथै कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, पंखा, हिटर लगायतका सामानहरु चोरी गरेर लगेको वडा नम्बर २४ का वडाध्यक्ष दशरत राउत कुर्मीले जानकारी दिए ।
वडा कार्यालयको दराजमा आगो लागेपछि जन्मदर्ता फाराम विवाह दर्ता फाराम लगायत महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको कुर्मीले बताए । साथै वडा कार्यालयसँगै रहेको स्वास्थ्य चौकी भवन भित्र पनि आगो लगाइ औषधिहरु जलाइएको उनले बताए ।
लकडाउनको बेला समस्यामा परेका विपन्न ,गरिबहरुलाई राहत वितरण गर्नको लागि बैठक बस्न शुक्रबार बिहानै वडा कार्यालय पुग्दा कार्यालयको ताल्चा तोडिएको तथा कार्यालय भित्र रहेका विभिन्न सामानहरु चोरी हुनुका साथै दराजमा पनि आगो लगाइएको पाएपछि प्रहरीलाई खबर गरेको वडाध्यक्ष कुर्मीको बताए ।
अहिले वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको तथा प्रहरीले घटनाको बिस्तृत विवरण संकलन गरिरहेको छ । यो वडा कार्यालयमा यस भन्दा पहिले पनि चोरीका घटनाहरु भएका थिए ।