वीरगञ्ज २० चैत । भारतबाट फर्किदै गरेका २२ जनालाई प्रहरीले पर्सा र बाराबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले भारतको दिल्लीमा भएको मुस्लिम समुदायको जमातीबाट फर्केको आशंकामा पर्साबाट एघार जना र बाराबाट एघारजना गरी २२ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बाराको बिश्रामपुर गाउपालिकामा रहेको छोटी नाकाबाट फर्किदै गरेको अवस्थामा बिहीबार ११ जनालाई पक्राउ गरेको छ । नेपाल र भारत दुवै देशमा लकडाउनको घोषणा गरिएको बेला भारतबाट फर्केका उनीहरुलाई बिश्रामपुर गाउपालिका वडा नम्बर २ स्थित कान्तिपुर नाकाबाट नेपालमा प्रवेश गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका सबैजनालाई सोधपुछ गर्दा आफूहरु भारतमा जमातीमा भाग लिएर फर्किरहेको भनेर जवाफ दिएको मिश्रले बताए । उनीहरुलाई बिरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित सिद्धार्थ माध्यमिक बिधालयमा बनाइएको क्वारेन्टाईनमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट पनि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट फर्केको आशँकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनीहरुलाई पनि सिद्धार्थ माबिमा बनाइएको क्वारेन्टाईनमा राखिएको प्रहरीले जनाएको छ ।