×

काठमाडौं - नेपाल चामल तेल दाल उद्योग संघले उत्पादित खाद्यान्न एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष सुबोध गुप्ताले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन गर्नु उपयुक्त भएपनि अत्यावश्यक खाद्यान्नहरु एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन नसक्दा झन् समस्या हुने भएकाले सहजीकरणका लागि माग गरेका छन् ।

उनले केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर संचालनमा आउनु अत्यावस्यक भएकोले यसको सहजीकरण गरिदिन संघीय सरकारसँग अनुरोध पनि गरेका छन् ।

साथै गुप्ताले ५ वटा बुँदामा भइरहेको समस्या र समाधानका उपायहरु पनि सुझाएका छन् ।

यस्ता छन् सुझाब

१. श्रमिक कर्मचारीहरुको मनोबल उच्च बनाउन सकेमा दैनिक जिवनमा नभैनहुने बस्तु उत्पादन गर्ने उद्योगमा गई काम गर्ने वातावरण बन्ने हुँदा उनीहरुको परिवारलाई सुरक्षित महसुस गराई श्रमिक कर्मचारीलाई काममा जाने उच्च मनोबलको वातावरण सिर्जना हुन जरुरी छ।

२. खाद्य बस्तु ढुवानी गर्ने माल बाहक र खाली सवारी साधानहरु विगत ४ दिनदेखि बिभिन्न ठाउँमा अड्किएको अवस्था छ। चालकहरु सवारी साधन छोडेर आआफ्नो घरमा गईसकेका छन्। उनीहरुलाई उचित व्यवस्था सहित उच्च मनोवल बृद्धि गरी खाद्य बस्तु निर्वाध रुपमा देशका बिभिन्न ठाउँमा पठाउनु जरुरी छ।

३. हरेक उद्योग संचालनको लागि दैनिक लगभग एकदेखी पाँच लाखसम्म नगद आवस्यक पर्ने हुँदा शहरबाट उद्योग क्षेत्रसम्म नगद लैजाने सहज वातावरण सिर्जन हुनु पर्छ।

४. दैनिक जीवनमा नभइ नहुने बस्तुका उद्योग ५ दिनदेखि बन्द र देशका बिभिन्न ठाउँका पसलहरु आंशिक रुपमा मात्र खोलिएको अवस्थामा स्थानीय अधिकारीको रोहवरमा पसल खोल्न लगाई उचित व्यवस्था गर्नु पर्ने छ।

५. घरबाट निस्कने वातावरण नभएकोले श्रमिक कर्मचारीहरु उद्योगमा नजाने हुँदा उद्योगबाट उत्पादित सह उत्पादन भुस, राईसब्रान, कनिका, चुन्नि भुसी, पिना एक ठाउँबाट अर्को ठाउँमा पठाउन समेत असहज भएको हुँदा यसले तयारी बस्तु उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने भएको छ।

विज्ञप्तिमा उल्लिखित छ - दैनिक जीवनमा आवस्यक पर्ने बस्तुका उद्योगमा काम गर्ने कर्मचारी, श्रमिक मजदुरको स्वास्थलाई ध्यानमा राखी स्यानी टाइजर, मास्क, सोसियल डिस्टेन्स लगायतको सुबिधा दिइरहेका छौं। संघले दैनिक जीवनमा नभै नहुनै दैनिक उपभोग्य खाद्य बस्तु चामल, तेल , दाल लगायतका अन्य बस्तुहरु एक ठाउँबाट अर्को ठाउँमा पठाउन चेन सिस्टमलाई निरन्तरता दिनु जरुरी भएकोले मजदुर कर्मचारीलाई काम फर्काउन सहजीकारणका माग गरेको छ।

Back to top