काठमाडौं, फागुन १९ - सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीन, जापान, दक्षिण, कोरिया, बहराइन र इरानबाट हुने डाइरेक्ट र ट्रान्जिट फ्लाइटको उडान आवश्यक परे रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि सर्वोच्चले आदेश दिएको छ ।
अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । त्यसको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले कोराना भाइरसलाई संक्रमण फैलन नदिन सरकारलाई जोखिमको पूर्वमूल्याङ्कन र विश्लेषण गर्न आदेश दिएको हो।
आदेशमा स्थलमार्ग र त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्नेहरुको कडाईका साथ स्वास्थ्य जाँच गर्न भनिएको छ । अदालतले कोरोना भाइरसको सम्भावित जोखिमलाई विचार गर्दै आवश्यक तयारी गर्न र दैनिक उपभोग्य सामानहरूको सम्बन्धमा समेत पूर्वतयारी र अनुगमन गर्न सरकारलाई आदेश समेत दिएको छ।
‘कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसबाट फैलिन सक्ने महामारी जस्तो विपद् जोखिमको न्यूनीकरणका निम्ति विपद्पूर्वको जोखिमको विश्लेषण, विपद् रोकथाम र क्षतिको न्यूनीकरणका लागि पूर्वतयारीका कामहरु गरिनसकेको भए तत्काल गरी र गर्न लगाइ संक्रमण फैलिए विपद् प्रतिकार्य र व्यवस्थापन कार्यहरु प्रभावकारी बनाउनू…’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘देशको उत्तर र अन्य सीमाबाट तथा त्रिभुवन विमानस्थलबाट प्रवेश गर्नेहरुमाथि दक्ष जनशक्ति खटाइ कडा निगरानी गर्नू… आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडामा रोक लगाउनू..’
सर्वोच्चले पाँचवटा देशको नाम नै लिएर ती देशबाट नेपाल आउने नागरिकहरुमाथि कडा स्वास्थ्य निगरानी गर्न पनि भनेको छ।