काठमाडौं, फागुन १९ - सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित देशमा रहेका नेपाली दूतावासलाई तयारी अवस्थामा रहन दिर्नेशन दिएको छ। ती देशमा रहेका नेपालीलाई जुनसुकै बेला उद्धार गनुपर्ने हुँदा तयारी अवस्थामा रहन भनिएको हो।
‘सबै दूतावासहरूलाई तयारी अवस्थामा रहन भनेका छौं,’ सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘ती देशमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहन पनि हामीले दूतावासलाई भनेका छौं।’
कोरोना भाइरस बढी प्रभावित देशका नागरिकलाई यही फागुन २७ गतेदेखि अनअराइभल भिसा नदिने निर्णयसमेत सरकारले गरेको उनले बताए। नेपालीलाई पनि अत्यावश्यक काममा बाहेक ती देशको भ्रमण नगर्न भनिएको उनले सुनाए।
‘सम्बन्धित देशमा रहेको हाम्रो दूतावासबाट भिसा लिएर आउनेलाई साथमा ‘हेल्थ कार्ड’ ल्याउनुपर्ने निर्णयसमेत सरकारले गरेको छ। कार्डमा सम्बन्धित देशको सम्बन्धित निकायले कोरोना भाइरस नभएको प्रमाणित गरेको हुनुपर्नेछ,’ उनले भने। यो नियम पनि फागुन २७ बाटै लागू हुनेछ।
सङ्क्रमित देशबाट आउनेहरूलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको व्यवस्था अनुसार क्वारेन्टाइनमा राखिनेसमेत उनले जानकारी दिए।
‘नाकाहरूमा उच्च सतर्कता अपनाइएको छ। भारत भएर आउने तेस्रो मुलुकका पर्यटकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने।
ठूलो भीडभाड हुने कार्यक्रम नगर्न पनि सरकारले आग्रह गरेको उनले बताए। औषधि, मास्कलगायत अत्यावश्यक वस्तुको दुरूपयोग नहोस् भनेर अनुगमन सुरु गरिएकोसमेत उनले जानकारी दिए। बढीभन्दा बढी मास्क उत्पादन गर्न उद्योगीहरूलाई भनिएको उनले जनाए।
भक्तपुर खरिपाटीको क्वारेन्टाइनलाई निरन्तरता दिने सरकारले निर्णय गरेको उनले सुनाए। निजी तथा सरकारी सम्पूर्ण अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।