वीरगंज, माघ ५ - हाम्रो अभियान पर्साद्वारा आयोजित “समृद्धि र मेरो बुझाई” विषयक २ दिने कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ ।
वीरगंजको कुमु प्यालेसमा भएको कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले समृद्ध हुनका लागि सर्वप्रथम दिमाग र बिचार बाट समृद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
वीरगंज पनि समृद्ध तर्फ उन्मुख हुँदै गएको बताउँदै उहाँले आफ्नो कार्यकालमा जनतालाई बिकासको आभाष गराउने बताउनुभयो । अहिले पनि वीरगंज जस्तो आर्थिक नगरीमा ६८ प्रतिशत जनताहरु करको दायरामा आउन नसक्दा महानगरको मात्रै नभएर राज्यको ढुकुटी पनि कमजोर भएको मेयर सरावगीको भनाई छ ।
वीरगंजमा ३ सय करोडको लगानीमा रिंगरोडको योजना भएपनि सरकारको असहयोगका कारण उक्त परियोजना अगाडी बढ्न नसकेको उहाँले बताउनुभयो । अन्य महानगरको तुलनामा प्रदेश २ को एउटा मात्रै महानगरपालिकालाई केन्द्र सरकारले बिभेद गरेको बताउँदै नगरप्रमुख सरावगीले आफ्नो कामको आलोचना गर्नुभन्दा कमी कमजोरी औल्याएर सल्लाह सुझाव दिए वीरगंजलाई समृद्ध बन्न कुनै समय नलाग्ने धारणा राख्नुभयो ।
समृद्धि र यसका बाधकहरुको बारेमा युवाहरुलाई बुझाउनका लागि आयोजित कार्यशाला गोष्ठीमा बिभिन्न क्षेत्रमा कार्यरत तथा अध्ययनरत २५ जना युवाहरुले बिभिन्न सृजना मार्फत समृद्धि र यसका बाधकको बिषयमा नगरप्रमुख सरावगीलाई जानकारी गराएका थिए । त्यसअघि सामाजिक सञ्जालको सदुपयोगबारे सृजनशील युवाहरुको समुह संस्कृतिका प्रतिनिधि आँशु कुमार सर्राफ र जियालाल साहले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको सहजिकरण हाम्रो अभियान पर्साका शिवनाथ यादबले गर्नुभएको थियो । २ दिने कार्यशाला गोष्ठीको समापन समारोहमा सञ्चारकर्मी सुरेश बिडारी, कविता खड्का, सन्ध्या पौडेल, विवेक बरनवाललगायतले सहयोग गरेका थिए ।