×

वीरगन्ज १२ चैत । बारा–पर्साको मालपोत कार्यालयमा अख्यितारको टोलीले निगरानी बढाएको छ । टोली यहाँ बसेर कार्यालयको गतिविधि र कर्मचारीको निगरानीमा जुटेको हो । सोही क्रममा शंकास्पद व्यक्तिलाई समेत नियन्त्रणमा लिइरहेको छ । मालपोत कार्यालयबाट कागजपत्र नियन्त्रणमा लिइसकेको टोलीले सोमबार तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार टोलीले अहिले पनि यी जिल्लामा खटेर सुक्ष्म अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रमममा तीन जनालाई नियन्त्रणमा लिएर मंगलबार काठमाडौं पठाएको छ । भूमि सुधार तथा मालपोत कार्यालय कलैयामा पुगेको टोलीले कार्यालयका लेखा प्रमुख युगलकिशोर ठाकुरसँग दुई घण्टासम्म सोधपुछ गरेको कार्यालय प्रमुख राजेश्वरी त्रिवेदीले जानकारी दिए । ‘छलफलपछि टोलीसँगै ठाकुरजीको कोठामा गएको थाहा छ,’ प्रमुख त्रिवेदीले भने–‘सञ्चारमाध्यमबाट नियन्त्रणमा लिएर काठमाडौं लगिएको बुझेको छु ।’ लेखा अधिकृतको कोठामा २४ लाख ९२ हजार टोलीले लेखा प्रमुख ठाकुरको डेराबाट २४ लाख ९२ हजार रकम बरामद गरेको छ । आयोगबाट खटिएका प्रहरी निरीक्षक लक्ष्मण खड्को टोलीले लेखाप्रमुख ठाकुरलाई सोमबार साँझ श्रोत नखुलेको २४ लाख ९२ हजार नगद रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । अनुसन्धानकै लागि भन्दै आयोगले सिमरा मालपोतका सुब्बा सत्रुर्द्धन पटेल, प्रमुख निजी सवारी चालकलाई पक्राउ गरी उनको घरबाट कलैया र सिमरा मालपोत कार्यालयका दुई बोरा कागजपत्रहरूसमेत नियन्त्रणमा लिएको छ ।

Back to top