वीरगन्ज १४ कार्तीक । केही समय सुस्ताएका मरीच तस्करहरू सीमावर्ती क्षेत्रमा पुनः सल्बलाउन थालेका छन् । मरिच तस्करीका मुख्य नाइके भनिएका अनिल पटवारी पुनः काम सुरुगरेको श्रोतले बताएको छ ।
तेस्रो मुलुकबाट वैधानिक रुपमै नेपाल भित्रिएको कालो मरिच अवैध तरिकाले भारततर्फ निकासी हुने गरेको छ ।
यता मरिच तस्करीका मुख्य नाइके भनिएका अनिल पटवारी गत जेठ २१ गते वीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मैट्रिक टन मरिच उनैको भएको रहस्य खुलीसकेको कारणले गर्दा उनी केहिदिन भूमिगत भएका थिए ।
मरिच तस्करी गरेको अभियोगमा ग्लोबल लेदर टेनिङ इन्डष्ट्रिज प्रा.ली. का सञ्चालक संजय अग्रवाल सहित भन्सार एजेण्ट दिलीप श्रीवास्तव र ट्रक चालक भारतीय नागरिक धर्मेन्द्र कुमारलाई हिरासतमा राखिएको भएतापनि मुख्य आरोपी अनिल पटवारी (अग्रवाल) नै रहेकोले उनी केहीदिन भूमिगत भएका थिए ।
सोझा– संजयको नाममा कम्पनी बनाए । विगत लामो समयदेखि सुपारी र मरिचको तस्करी गर्दै आएका अनिल पटवारी छोटो अवधिमै एक हजार करोड भन्दा बढीको सम्पति कमाउन सफल भएको व्यापरीहरुबीच चर्चा छ ।
लामो समयदेखी सुपारी लगायतका अन्य बस्तुको अनधिकृत कारोवार गर्दै आएका पटवारीले राज्यको कर छली गरेर केही महिना भित्र आदर्शनगर एरियाभित्र सय करोड भन्दा बढीको सम्पति खरिद गरेको व्यापरीहरुबीच चर्चा छ ।
उता अनिल पटवारीका भाई संजय अग्रवाललाई राजश्व अनुसन्धान विभागले थुनेर तीन करोड ७६ लाख ८० हजार धरौटी मांगेको र सो बराबरको रकम तिर्न नसक्दा संजय हाल हिरासतमै केहिदिन बसेका थिए । उनलाई छुट्याउन पटवारीले कुनै कुनै पहल नगरेपछि संजयका साथीहरु मनोजदास र विष्णु अग्रवालले संजयलाई धरौटी राखेर छुटाएका थिए ।
गत जेठ २१ गते वीरगञ्जको मूल नाका भएर भारततर्फ जान लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच बरामद भएको थियो ।
अग्रवाल मुख्य सञ्चालक रहेको ग्लोबल लेदरले भारतको कानपुरस्थित मेरिट एक्जिमलाई छाला पठाउने भनिएको ट्रकमा मरीच फेला परेको थियो ।
यता केही समय सुस्ताएका मरीच तस्करहरू सीमावर्ती क्षेत्रमा पुनः चालु भएको आर्थिक वर्षको तीन महीनाको तथ्य बाहिर आएको छ ।
चालू आर्थिक वर्षको तीन महीनामै आन्तरिक खपतको ४ गुणा मरिच आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महीनामा ८४ करोड ७७ लाख रुपैयाँको २ हजार ४० मेट्रिकटन मरिच आयात भएको छ ।
नेपालमा मरिचको खपत कति छ भन्ने आधिकारिक तथ्याङ्क उपलब्ध छैन । वर्षिक ५ सय मेट्रिकटनभन्दा बढी माग नभएको कारोबारीहरू बताउँछन् । मसलामा प्रयोग हुने मरिच अन्य मसलाभन्दा महँगो हुने भएकाले खपत पनि कम हुने उनीहरुको भनाइ छ ।
आन्तरिक माग न्यून भए पनि नेपाल भित्रिएको मरिच विभिन्न नाकाहरूबाट भारततिर जाने गरेको पाइएको छ । गत जेठमा वीरगञ्ज नाकाबाट छाला निकासी भन्दै ठूलो परिमाणमा मरिच तस्करी भएको पत्ता लागेपछि सुस्ताएको तस्करीले पुनः गति समात्न थालेको तथ्य बाहिर आएको छ ।
असोजको पहिलो सता साइकलमा भारततर्फ लैजाँदै गरिएको १४ क्विण्टल मरिच वीरगञ्जको सीमाक्षेत्रबाट प्रहरीले बरामद गरेको थियो । पूर्वी नाका विराटनगरबाट पनि मोटरसाइकलमा भारत छिराउनेक्रममा त्यहाँको प्रहरीले मरिच समातेको थियो । विगतमा ठूलो परिमाणमा मरिच तस्करी भइरहेको थियो । गत जेठमा वीरगञ्जको मुख्य नाकाबाटै भारततिर लैजानेक्रममा १२ मेट्रिकटन मरिच बरामद भएपछि तस्कर सुस्ताएका थिए ।
अहिले ग्रामीण क्षेत्रका नाका प्रयोग गरी तस्करले साइकल र मोटरसाइकलमा भारततिर मरिच छिराउने गरेको प्रहरीले बताएको छ । पर्साका प्रहरी उपरिक्षक रेवति ढकालले तस्करी नियन्त्रणका लागि शङ्कास्पद नाकामा निगरानी बढाइएको बताए ।
तस्करले भारततिर लैजान लागेको मरिच प्रहरीले सीमाक्षेत्रबाट बरामद गरेकोसमेत उपरिक्षक ढकालले बताए । वीरगञ्जलाई मरिचको बढी तस्करी हुने नाका मानिएको छ ।
यो संवेदनशिलतालाई ध्यानमा राखी निगरानी पनि बढी राखिएको प्रहरीको दाबी छ । तर, तस्करले ग्रामीण नाकामा खटिएका प्रहरीलाई ‘मिलाएर’ भारततिर निकासी गरिरहेको कारोबारीहरू बताउँछन् ।
वीरगञ्जको सुक्खा बन्दरगाह हुँदै भित्रिएको मरिच सीमावर्ती नाकाबाट भारततर्फ लैजान सहज भएकाले त्यहाँबाट बढी तस्करी हुने गरेको छ । बितेको आर्थिक वर्ष २०७४र७५ को कुल मरिच आयातमा करीब आधा परिमाण सुक्खा बन्दरगाहबाटै भित्रिएको तथ्याङ्क छ । वर्ष २०७४र७५ मा सुक्खा बन्दरगाहबाट २ अर्ब ४२ करोड ४५ लाख रुपैयाँबराबरको ६ हजार ३ सय ७५ मेट्रिकटन मरिच भित्रिएको बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत सूर्य सेढाइले बताए । त्यो अवधिमा कुल १५ हजार ५ सय ५८ मेटिकटन मरिच आयातको तथ्याङ्क भन्सार विभागसित छ । ठूलो परिमाण मरिच आयात गर्नेमा वीरगञ्जकै व्यापारी छन् । भन्सार विभाग स्रोतका अनुसार मरिच आयातमा संलग्न अग्रस्थानका ५ मध्ये सबै वीरगञ्जका कम्पनी छन् । वीरगञ्जबाट मरिच तस्करी सजह भएकाले त्यहाँका व्यवसायी यो धन्दामा बढी सक्रिय भएको स्रोतको दाबी छ । अघिल्लो आर्थिक वर्ष औद्योगिक प्रयोजनका लागि मरिच भित्र्याउने कम्पनीलाई समेत यस्ता प्रतिष्ठानले उछिनेको पाइएको छ ।
किन हुन्छ तस्करी ?
मरिच उत्पादनमा वृद्धिका कारण अन्तरराष्ट्रिय बजारमा यसको भाउमा तीव्र गिरावट आइरहेको छ । भारतले आफ्ना कृषकलाई संरक्षण गर्न आयातमा महशुल ह्वात्तै बढाएको छ । वर्ष्दिन अघिसम्म प्रतिमेट्रिक टन ७ हजार अमेरिकी डलरसम्म रहेको मरिचको भाउ अहिले ३ हजार डलरमा झरेको छ । विश्वका प्रमुख मरिच उत्पादकमा पर्ने भारतले अयातमा ७८ दशमलव ५ प्रतिशत महशुल लगाएको छ । नेपालमा १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिरे पुग्छ । यही महशुल अन्तरका कारण भियतनाम, डण्डोनेशिया, ब्राजिल, चीन, श्रीलङ्कालगायका देशबाट नेपाल भित्रिएको मरिच व्यापारीले अवैधरुपमा भारततर्फ पठाउने गरेका छन् । नेपाली बजारसम्म ल्याउँदा किलोको ६ सय रुपैयाँ पर्ने मरिच भारतीय बजारमा एक हजार रुपैयाँमा बिक्री हुन्छ । किलोमै ४ सय रुपैयाँ फाइदा देखेपछि सीमाक्षेत्रका व्यवसायी अवैध धन्दामा लागेका छन् । नेपालमा सबैभन्दा बढी मरिचको आयात भियतनामबाट हुन्छ । कुल उत्पादनको एक तिहाई मरिच उत्पादन गर्ने भियतनाम विश्वकै ठूलो उत्पादक हो ।