×

वीरगञ्ज ५ असोज । बाराको बारागढी गाउँपालिकामा आगामी असोज ११ गतेबाट भौतिक रुपमा नै विद्यालय सञ्चालनमा आउने भएको छ ।

गाउँपालिका कार्यालयले सोमबार एउटा सूचना जारी गर्दै असोज ११ गतेदेखि विद्यालयबाट नियमित पठनपाठन सुरु गर्ने जनाएको हो ।

गाउँपालिकाको शिक्षा समिति र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरु बीचको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष देवदत्त बछार थारु हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

सरकारले जारी गरेको विद्यार्थी सिकाई निर्देशिका २०७७ को दफा ३ लाई आधार मानेर विभिन्न पहुँचको आधारमा वर्गीकरण गर्दा विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिन नसकिने देखिएपछि यस्तो निर्णय भएको अध्यक्ष थारुले जनाएका छैन ।

गाउँ/गाउँ वा टोल/टोलमा गएर शिक्षण गर्न जनशक्तिको अभाव रहेको, रेडियो, टिभी र इन्टरनेटको पहुँचमा सबै विद्यार्थीहरु नरहेको कारणले समान रुपमा सबैमा शिक्षाको पहुँच पुर्‍याउनको लागि शिक्षा समितिले यस्तो निर्णय गरेको अध्यक्ष थारुले बताए ।

आगामी असोज ११ गतेबाट विद्यालय सञ्चालन हुने भएपछि सबै विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आजबाट विद्यालय पुगेर तयारी शुरु गरेका छन् । शिक्षक तथा कर्मचारीहरुले आजबाट सरसफाई र कक्षा सन्चालनको पूर्व तयारी शुरु गरेका छन् ।

असोज ११ गतेबाट कक्षा सञ्चालन गर्दा दुई सिफ्टमा कक्षा चलाउँने गर्ने तयारी गाउँपालिकामा भएको छ ।

कक्षा सञ्चालन गर्दा विद्यालयमा विद्यार्थीहरुलाई सानो समूहमा विभाजन गरी सामाजिक दुरी कायम गरी पूर्ण रुपमा सुरक्षामा उपायहरु अपनाएर कक्षामा सहभागी गराउने निर्णय गरिए अनुसार सबै विद्यालयहरु तयारीमा जुटेका छन् ।

यता पर्सा र बाराका अन्य स्थानिय तहहरुले विद्यालय सञ्चालन बारे कुनै चाँसो नदेखाएको स्थानियहरुले गुनासो गरेका छन् । कोरोना भाइरसको भयका कारण विगत ६ महिनादेखि बन्द रहेका विद्यालयबाट पठनपाठन सुरु गराउँने कुनै पहल नगरेको अभिभावकहरुले बताएका छन् ।

विद्यालय लामो समयसम्म बन्द रहँदा बालबालिकाहरूले भविष्य अन्धकार हुने अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् ।

Back to top