×

वीरगञ्ज २८ श्रावन । छोटो समयमा गुणस्तरिय सेवा प्रदान गरेर जनताको मन जित्न सफल वीरगञ्जस्थित नारायणी वयोधा हस्पिटलले पीसीआर परीक्षण सुरु गर्ने भएको छ ।

स्थापना कालदेखिनै सस्तो र गुणस्तरिय उपचार दिएर स्थापित हुन् सफल वयोधा अस्पतालमा बुधबारदेखि कोरोना भाइरस सङ्क्रमणको परीक्षण सुरु हुनेभएको हो ।

वयोधा अस्पतालमा उपचार गराउन आएका विरामीहरुको अब अस्पतालमै पीसीआर परीक्षण गरिने अस्पतालको प्रशासन विभागले बताएको छ । अस्पतालमा पीसीआर परीक्षण सुरु हुँदा नारायणी अस्पताल पुग्नै पर्ने समस्याबाट विरामीहरुले छुट्कारा पाउने छन् ।

त्यसैगरी वीरगञ्जस्थित दियालो लर्डस् प्लाजा होटल र नारायणी वयोधा अस्पताल बीच सेमी आइसोलेसन स्थापना गर्ने सम्झौता भएको छ । अस्पतालले कोरोना शङ्का लागेका विरामीहरुलाई उपचार गर्न दियालोमा सेमी आइसोलेसन स्थापन गरिएको बताइएको छ । होटलमा १६ बेडको सेमी आइसिलेसन स्थापन गरिएको छ ।

'अस्पतालमा आउने कोरोना शंका भएका व्यक्तिहरूलाई होटल आइसोलेसनमा राखिने छ,' अस्पतालको प्रशासन शाखाका एक कर्मचारीले भने, 'कोरोना पुष्टि भएपछि उहाँहरुलाई कोभिड अस्पताल लगेर भर्ना गर्छौँ ।'

कोरोना शंका लागेका विरामीहरुलाई होटल आईसोलेसनमा राख्दा अस्पतालमा अन्य प्रकृतिका विरामीहरुको उपचार गर्न सहज हुने उनले बताए । 'अस्पताललाई संक्रमणबाट सुरक्षित राख्न हामीले यो उपाए अपनाएका हौँ,' उनले भने ।

उनले होटल आइसोलेसन सेवा मंगलबारबाट सुरु गरिएको जानकारी दिए ।

Back to top