×

वीरगञ्ज २१ श्रावन । कोरोनाभाइरस महामारीको समयमा पनि नारायणी अस्पतालको लापरवाहीमा कुनै कमि आएको छैन । विगतका समयहरुमा विभिन्न लापरवाहीका कारण विवादित बन्दै आएका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायको लापरवाही एक पटक फेरी सतहमा आएको छ ।

मेसु उपाध्यायको लापरवाहीका कारण वीरगञ्जका हजारौं जनता कोरोनाभाइरस संक्रमणको जोखिममा रहेका छन् । मेसु उपाध्यायले गरिएको पिसिआर परिक्षणका रिपोर्टहरु समयमा उपलब्ध नगराउँदा संक्रमण भएका व्यक्तिबाट समुदायमा कोरोना फैलन भय बढेको हो ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ९ स्थित रेल्बे माविमा श्रावन ११ गते गरिएको पिसीआर परिक्षणको रिपोर्ट आहिलेसम्म पनि नआउँनु डा. उपाध्यायको चरम लापरवाहीको नमूना हो । श्रावन ११ गते महानगरपालिकाको एक-घर एक पिसिआर परिक्षण अभियान अन्तर्गत वडा नं. ९ का १ सय १३ स्थानीयले पिसीआर परिक्षणकालागि आफ्नो स्वाब जम्मा गराका थिए । तर, त्यसको नतिजा भने अहिलेसम्म पनि आउँन सकेको छैन ।

वडा नं. ९ का वडा अध्यक्ष मनोज कलवार अनुसार १० दिन अगाडी गरिएको परिक्षणको रिपोर्ट हालसम्म पनि नआएको हो । उनले अस्पतालमा पटका-पटक ताकेता गर्दा समेत कुनै निश्चित उत्तर नआएपछी आफु अन्योलमा परेको बताए ।

'श्रावन ११ गते पिसिआर परिक्षण गरियो, परिक्षण क्रममा खटिएका स्वास्थ्यकर्मीले ३-४ दिनमा सबैको रिपोर्ट आउँने हामीलाई आश्वासन दिए,' वडा अध्यक्ष कलवारले भने, 'तर अहिलेसम्म पनि रिपोर्ट आउँन सकेको छैन, आज स्वाब संकलन गरेर लागिएको १० औं दिन हो । अहिले सम्मपनि रिपोर्ट नआउँदा हामी अन्योलमा परेका छौं ।

अध्यक्ष कलवारले अस्पतालले पैसा तिरेर परिक्षण गराएका व्यक्तिहरुको १-२ दिनमै रिपोर्ट उपलब्ध गराएपनि महानगरपालिकाबाट भएको परिक्षणको रिपोर्ट अस्पताल प्रशासनले राजनीतिक प्रभावमा आएर लुकाएको आरोप लगाए । उनले अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायसँग रिपोर्टका बारे ताकेदा गर्दा फोन समेत उठाउँन छोडेको बताए ।

फेरी श्रावन १३ गते सोहि स्थानमा भएको स्वाब संकलनको रिपोर्ट फेरी आएको उनले भने, 'श्रावन १३ गते दोस्रो पटक अभियान मार्फत सङ्कलन गरिएका व्यक्तिहरुको रिपोर्ट अस्पतालले उपलब्ध गराएको छ, तर श्रावन ११ गतेको रिपोर्ट बारे भने अहिलेसम्म पनि कुनै जानकारी छैन ।'

कलवार अस्पतालको कुनै प्राविधिक त्रुटीका कारण पनि रिपोर्ट नआउँन सकेको शंका जनाउँदै त्यस्तो भएमा एक पटक पुन: स्वाब संकलन गर्न आग्रह गरे ।

पिसिआर रिपोर्ट नआउँदा वडावासीहरु चिन्तित बनेका छन् । स्वाब जम्मा गराए १ सय १३ जना होम क्वारेन्टइनमा छन्, कोहिमा संक्रमण छ भने त्यो अन्यमा समेत फैलन भय सृजना भएको स्थानीय बताउँछन् ।

वीरगञ्ज महानगरकापालिकाका मेयर विजयकुमार सरावगीका राजनितिक सल्लाहकार मुकेश द्विवेदीले आफुले पनि शुक्रबार नै दिएकाे स्वाब संकलनकाे रिपाेर्ट बारे अझै थाह पाउँन नसकेकाे वताए ।

उनले भने “मेयर सावकाे नजिकमा आएका प्रमुख प्रशासकिय अधिकृतसहितका नगरपालिकामा कर्मचारी, जनप्रतिनिधि लगायतकाले त्याे दिन पिसिआर परिक्षणकाे लागि स्वाब दिएका थिए तर रिपाेर्टकाे अझै सम्म थाह पताे छैन् । पछि हामी मध्ये कै हाम्रै पार्टीका नेता समेत रहेका सिपु तिवारीकाे स्वास्थ्यमा समस्या देखिएपछि भने सुनेर परिक्षण गराएपछि रिपाेर्ट पाेजिटिभ देखियाे, अहिले उहाँ अस्पतालमा हुनुहुन्छ । तर हाम्राे रिपाेर्ट अझै सम्म नआउनुले तनाव श्रृजना गरेकाे छ ।”

'मेसु सा'वलाई फाेन गर्दा फाेन नै उठ्दैन्, एउटा रिपाेर्टकाे लागि हामी जस्ताेलाई यत्राे कठिनाई र समस्या छ भने अरुलाई के हालत हाेला भन्न सकिदैन् ।'

पिसिआर रिपाेर्टमा हुने गरेकाे ढिलाईका कारण कतिपयले ज्यान समेत गुमाउनु परेकाे गुनासाे आइरहेकाे छ । काेराेनाकाे लक्षण देखिएकाहरुलाई वीरगञ्जका अस्पतालहरुले उपचार गर्न मानिरहेका छैनन् भने काेभिड अस्पतालले विना पिसिआर रिपाेर्टकाे भर्ना लिन पनि मानिरहेकाे छैन् । त्यहि भएर सम्बन्धित निकायकाे यसतर्फ ध्यान पुग्न जरुरी देखिन्छ ।

यस बिषयमा बुझ्न नारायणी अस्पतालका मेसु डा उपाध्यायसंग फाेनमा सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

Back to top