×

वीरगन्ज ४ श्रावण । पर्साको ठोरी गाउँपालिका–२ स्थित सीता गुफाको शिरमा रहेको पिलर (सीमा स्तम्भ) फेरि सोही स्थानमा गाडिएको छ । शनिबार दिउँसो ४३६ नम्बर पुरानो ठूलो पिलर ढलेको अवस्थामा फेला परेको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले शनिबार दिउँसो ढलेको अवस्थामा फेला परेको पिलर पुन: यथास्थितिमै गाडिएको बताए ।

सीता गुफाको शिरमा रहेको पिलर ढलेको अवस्थामा फेला परेपछि ठोरीवासीले विरोध गरेका थिए । भारतीय सीमा सुरक्षा बल, ठोरी गाउँपालिका अध्यक्ष र सुरक्षा निकायले निर्णय गरेपछि यथास्थितिमै पिलर गाडिएको हो । ‘भारततिरको दशगजामा यथास्थिति भन्दा ५ मिटरको दूरीमा पिलर ढलेको अवस्थामा थियो,’सशस्त्र प्रहरी निरीक्षक दाहालले भने, ‘सबै पक्षको सहमतिमा पुरानै ठाउँमा शनिबार राति ९ बजेतिर गाडियो ।

ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले दुवै देशका सुरक्षा निकायको रोहबरमा ढलेको पिलर यथास्थितिमा गाडिएको बताए । प्रधानमन्त्रीको केपी शर्मा ओलीको भगवान रामबारेको अभिव्यक्तिपछि एकाएक चर्चामा आएको ठोरीको सीतागुफा परिसरमा शनिबार स्थानीयले विशेष पूजा अर्चना गरेका थिए । ठोरीको सीता गुफा, वनशक्ति मन्दिर, कृष्ण मन्दिरलगायतका शक्तिपीठहरुमा स्थानीयले पूजा गरेका हुन् । साभार कान्तिपुर दाैनिक बाट ।

Back to top