×

वीरगञ्ज २५ असार । पोखरिया–मिर्जापुर सडकखण्ड अन्तर्गत लङ्गडी, हरपुर, भलुवहिया, मुडली, वसन्तपुर क्षेत्रका सडकमा अहिले पैदल यात्रीबाहेक कुनै पनि सवारीसाधन चल्न सकेको छैन ।

विगत एक महीनाभन्दा बढी समयदेखि वर्षाको कारण यो सडकखण्डमा सवारीसाधनहरू गुड्न सकेका छैनन् । पूर्वाधार विकास कार्यालय, पर्सा वीरगञ्जबाट रोशन/रञ्जीत र सागर जेभीले रु १३ करोड ५६ लाख ७७ हजारमा दुई वर्ष अवधिमा सडक निर्माण गर्ने ठेक्का लिएकोमा एक वर्ष अवधि बित्दा माटो पुर्ने र केही ठाउँमा कल्भर्ट बनाउनेबाहेक नाला निर्माण र सडक कालोपत्र गर्ने काम अगाडि बढ्न सकेको छैन ।

ठेकेदार कम्पनीको लापरवाहीको कारण यो सडकखण्ड यस वर्षायाममा पनि हिलाम्य भएर सवारीसाधन आवागमन प्रभावित भएको हो । सडक निर्माणको लागि थुपारिएको माटो अहिले यो सडकखण्डको लागि काल बनेको छ । वर्षाले माटोलाई सडकमा मिसाएको कारण हिलाम्य भएर सडकमा आवागमन हुन सकेको छैन । वर्षायाममा आवागमन भइरहेको वसन्तपुर–मुडली क्षेत्रको सडकखण्डमा ग्रेभल गरेर बाटो सम्याइरहेको छ । जबकि माटो थुपारिएको ठाउँमा हिलाम्य भएर आवागमन बन्द भएको छ ।

ठेकेदार कम्पनीका सञ्चालकमध्ये एक प्रदेशसभा सदस्य सिंहासन साह कलवारले वर्षाको कारण सडकको काममा बाधा पुगेको बताए । उनले सडक हिलाम्य हुनुमा मौसम दोषी भएको बताए । आफ्नो नियत सफा भएपनि काम गर्दा अपजस पाएको उनले प्रतिक्रिया दिएका छन् । अहिले मुडली, वसन्तपुर, लङ्गडी, भिस्वा, धोबिनीसँग पोखरियाको सडक सम्पर्क विच्छेद भएको छ । महीना दिनभन्दा बढी समयदेखि सडक सम्पर्क विच्छेद भएको हो ।

यसैगरी, पोखरिया–विरञ्चीबर्वा जाने वैकल्पिक सडक पनि अहिले वर्षाको कारण हिलाम्य भएर सवारी आवागमन बन्द छ । पोखरिया नगरपालिका–५ नगरप्रमुख दीपनारायण रौनियारको वडा हो । सो वडा भएर विरञ्चीबर्वा जाने बाटो अहिले हिलोको कारण पैदलबाहेक सवारीसाधनहरू गुड्न सकेका छैनन् ।

यसैगरी, पोखरिया–थरुहट सडक सम्पर्क पनि विच्छेद भएको छ । लमरिया–गण्डक नहरको बाटो पनि विच्छेद भएको छ । पोखरिया–वीरगञ्जबाहेकका सडकहरू अहिले हिलाम्य भएर सवारीसाधनहरू गुड्ने अवस्थामा छैनन् । जसले गर्दा पोखरियापछि ग्रामीण क्षेत्रको सडक सम्पर्क टुटेको छ ।

अहिले मौसम विभागले थप वर्षा हुने बताएपछि ग्रामीण क्षेत्रका मानिसहरू त्रसित छन् । चार दिन लगातार वर्षा हुने र नदीहरूमा बाढीसमेत आउन सक्ने मौसम विभागले पूर्वानुमान गरेपछि सडक सम्पर्कविहीन यस क्षेत्रका मानिसहरूमा त्रासको अवस्था छ । प्रतीक दैनिकबाट साभार ।

Back to top