×

बीरगंज २३ असार । भारतले नेपालबाट प्रशोधित पाम आयलको आयात रोकेपछि नेपालका करीब २ दर्जन तेल उद्योगको लगानी संकटमा परेको छ । भारत निकासीलाई लक्षित गरी खुलेका उद्योगको लगानी जोखिममा परेको हो ।भारतले गत मे १२ देखि प्रशोधित पाम आयलमा दोस्रोपटक प्रतिबन्ध लगाएपछि उद्योगको गोदाम र बन्दरगाहमा करीब १ लाख मेट्रिक टन कच्चा आयल अलपत्र परेको उद्यमीहरूले बताएका छन् ।

निकासी रोकिएपछि आयात भइसकेको कच्चा पदार्थ के गर्ने भन्ने चिन्ता बढेको ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले बताए । ‘पाम आयलको मुख्य बजार नै भारत हो । स्वदेशमा यसको खपत अत्यन्तै न्यून छ । निकासी नै रोकिएपछि कच्चा पदार्थमा खर्च भएको रकमसमेत डुब्ने हो कि भन्ने चिन्ता छ,’ उद्योगी रुंगटाले भने ।

उद्योगी रुंगटाका अनुसार अहिले स्वदेशी उद्योगको गोदाम र कोलकाता बन्दरगाहमा रोकिएको कच्चा पाम आयलको मूल्यमात्रै करीब रू. ८ अर्बभन्दा बढी हुन्छ । प्रशोधित पाम आयल भारत निकासी गर्ने उद्देश्यले लगानी बढाएका उद्यमीलाई थप समस्या परेको छ । अधिकांश उद्योगले उत्पादन क्षमता बढाएका छन् ।

भारतको वैदेशिक व्यापार निर्देशनालयले गत जनवरी ८ देखि रोकेको आयात करीब १ महीनापछि खुलेको थियो । तर, पछिल्लोपटक २ महीना पुग्न लाग्दा पनि निकासी नखुलेपछि उद्योगी अन्योलमा परेका छन् ।

अघिल्लोपटक उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा भारतले आयात अनुमतिका आधारमा भिœयाउन दिएको थियो । प्रशोधित पाम आयलको निकासी खुलाउन पहल भइरहेको जानकारी मन्त्रालयका सहसचिव नवराज ढकालले दिए ।

भारतले लकडाउनकै बीचमा आयात रोकेको र अहिले दुवैतर्पmका सरकारको ध्यान कोरोना संक्रमण नियन्त्रणमा केन्द्रित भएकाले निकासी खुलाउने प्रयास प्रभावकारी हुन नसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

वीरगञ्ज, विराटनगर र भैरहवाका करीब २ दर्जन उद्योगले प्रशोधित पाम आयल भारत निकासी गर्दै आएका थिए । तीमध्ये सबैभन्दा बढी वीरगञ्ज कोरिडोरमा छन् । यो औद्योगिक कोरिडोरमा यस्ता १४ उद्योग छन् ।

भारतले आफ्ना उद्योग संरक्षणका लागि कच्चा पाम आयलको आयातमा उच्च दरको महसुल लगाएको छ । भारतले आयातमा ४४ प्रतिशत सीमा शुल्क तोकेको छ । नेपालमा १० प्रतिशत भन्सार महसुल लाग्छ ।

यही महसुल अन्तरका कारण नेपालका उद्यमीले इन्डोनेशिया र मलेशियाबाट भिœयाएको कच्चा पाम आयल प्रशोधन गरी साप्mटा सहुलियतअन्तर्गत शून्य भन्सार दरमा भारत निकासी गरेका थिए । साभार abhiyandaily.com बाट

Back to top