×

वीरगञ्ज, १६ असार । अहिले आर्थिक वर्षको हिसाबले अन्तिम समय चलिरहेको छ । यो बेला विकासे अड्डाहरूमा विकासको बजेट सिध्याउने र कमिशन कुम्ल्याउने हतार छ । यस्तै हतारमा विकासका नाममा बेथिथि मौलाएका नमूनाहरू वीरगञ्जमा पनि प्रशस्तै देख्न पाइएको छ ।

यस्तै एउटा नूमना बनेको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ बिर्तास्थित सडक । यो सडकमा ढलानमाथि ढलान भएको छ । यसअघि गरिएको ढलान सद्दे हुँदाहुँदै बजेट सिध्याउनकै लागि फेरि ढलान थोपरिएको स्थानीय बासिन्दाको भनाइ छ ।

आर्थिक वर्षको अन्त्यमा जसरी पनि बजेट सकेर आर्थिक दुनो सोझ्याउने अभिप्रयाले आवश्यकता नै नभएका ठाँउमा रकम दुरुपयोग भइरहेको छ । वर्षौदेखि हिलाम्मे खाल्डाखुल्डी भएका सडकमा महानगरको नेतृत्वको ध्यान जान सकेको छैन । स्थानीयबासिन्दाले प्रत्येक बर्खा सिजनमा सास्ती उठाउनु परेको छ ।

महानगर कार्यपालिकाको कार्यालय रहेकै वडा नम्बर १० आदर्शनगरको टाउनहल छेउको सडक हो कि रोपाइँका लागि तयार पारिएको खेत ? छुट्याउन कठिन हुने अवस्थामा छ । सडकको दुरावस्थाका कारण बर्खाको समयमा स्थानीयले वर्षौदेखि समस्या खेप्दै आएका छन् । उनीहरुलाई आवागमनमा समस्या हुँदै आएको छ ।

तर, महागनरको ध्यान यतातिर जान सकेको छैन । यो वडाबाट चुनिएर गएका वडा प्रतिनिधिहरुले पनि यो समस्याको समाधानमा चासो राखेको पाइँदैन । वीरगञ्ज महानगरका अधिकांश ठेक्कापट्टामा चुनिएर गएका जनताका प्रतिनिधिहरु नै अप्रत्यक्ष रुपमा संलग्न भएका कारण पनि वीरगञ्ज महानगरमा विकासमा नाममा लुट मच्चिएको महानगरसम्बद्ध उच्च स्रोतको दाबी छ ।

Back to top