×

वीरगञ्ज १४ असार । मध्य र पश्चिम तराईका जिल्लामा शनिबार देखिएको सलहको प्राकृतिक आचरण अनुमान गरेभन्दा फरक पाइएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयद्वारा सलहको अध्ययनका लागि गठित कार्यदलले सलहको प्राकृतिक आचरण भारतमा भन्दा फरक पाइएको निष्कर्ष निकालेको छ।

प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईले नेपालमा भित्रिएको सलहको झुण्डले एक ठाउँमा लामो समय नबसेर छिनछिनमा स्थान परिवर्तन गरिरहेको बताए।

उनका अनुसार आज विहान ७ देखि ९ बजेको बीचमा मध्यतराईका सर्लाही, बारा तथा दिउँसो रुपन्देहीमा सलहको झुण्ड देखिएको थियो । “एक ठाउँमा बसेपछि त्यहाँको सम्पूर्ण बालीनाली खाएर सकेपछि अर्को ठाउँमा जाने सलहको प्राकृतिक आचरण हो,” हुमागाई भन्छन् “तर आज नेपाल भित्रिएको सलहको झुण्डले छिनछिनमा स्थान परिवर्तन गरिरहेको छ, एकदमै आत्तिए जस्तो देखिन्छ।”

बिहान सलह देखिएको स्थानमा दिउँसो थिएन । दिउँसो ३ बजे सिन्धुलीको भिमादमा देखिएको सलह ५ बजे सिन्धुलीकै चियाबारीमा देखिएको थियो । हुमागाईका भनाइमा सलह बसेको स्थानमा अहिलेसम्म त्यसले ठूलो क्षति गरेको छैन । सर्लाहीमा देखिएको सलहको झुण्ड सिन्धुली आएको हुनसक्ने हुमागाईले बताए।

“राजस्थानतिर फर्कनुपर्ने सलह हावाको वेगसँगै बाटो बिराएर विभिन्न झुण्डमा नेपाल प्रवेश गरेको देखिन्छ । बसेको स्थानमा ठूलो क्षति पुर्‍याएको पनि देखिन्न,” हुमागाई भन्छन् “असामान्य परिस्थितिमा हावाको चाप र दिशाले नेपाल प्रवेश गरेका हुन् । ठूलो झुण्ड छैन । स-साना झुण्डमा तितरवितर अवस्थामा यहाँ आइपुगेका छन् । सलहका लागि नेपाल उपयुक्त हावापानी होइन । बच्चा पार्नका लागि यिनीहरुलाई मरुभूमि चाहिन्छ।”

एक ठाउँमा नबसेर विभिन्न ठाउँमा उडिरहेकाले कहाँ बसेर क्षति गर्दछ त्यसको पूर्वानुमान गर्न कृषि वैज्ञानिक असमर्थ देखिएका छन् । नेपालमा देखिएको सलहको आचरणले पनि व्यवस्थापनमा अन्योल देखिएको छ । “व्यवस्थापनमा पनि अन्योल देखियो, विहान एक ठाउँमा देखिएको छ । फेरि अर्को ठाउँमा गएर बस्छ।”

नेपालमा एक ठाउँमा देखिएको सलहको संख्या अर्को ठाउँमा पुग्दा घटेको पाइएको छ । दक्षिण अफ्रिकाबाट पाकिस्तान हुँदै तीन महीनाअघि सलहको झुण्ड भारतको राजस्थान आइपुगेको थियो । राजस्थानबाट सलहको झुण्ड बाँडिएको थियो।

सलह आउनसक्ने भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आवश्यक अध्ययनका लागि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईको संयोजकत्वमा प्राविधिक कार्यदल बनाएको थियो । भारतको राजस्थानमा देखिएको सलहका झुण्ड विभिन्न भागमा टुक्रिएको र नेपालमा मनसुन शुरु भएको भन्दै यस वर्ष सलहको जोखिम टरेको उक्त प्राविधिक कार्यदलले निष्कर्ष निकालेको थियो।

संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य कार्यक्रम (एफएओ) ले यस वर्षका लागि नेपालमा सलहको प्रकोप टरेको जानकारी नेपाललाई गराएपछि सलहको जोखिम टरेको निष्कर्ष निकालिएको हुमागाई बताउँछन्।

ठूलो झुण्डमा आएको सलहलाई जेठको दोस्रो हप्ता दक्षिणी सागरमा विकास भएको अंपुन नामको चक्रावतले पनि तितरबितर पारेको थियो । हुमागाईका अनुसार सलह हावाको विपरीत दिशामा उड्न नसक्ने भएकाले पनि नेपालमा आउन सक्ने सम्भावना टरेको निष्कर्ष निकालिएको थियो।

तीन दिनअघि वायुको वेग दक्षिण हुँदै उत्तरतर्फ चलेकाले भारतको विहार र उत्तरप्रदेशमा रहेका सलहका झुण्ड हावासँगै नेपाल आएको हुमागाईले बताए।

नेपाल सलह रोकथाम तथा नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय सञ्जालको सदस्य बनेको छ । यो सञ्जालमा अफ्रिकी मुलुक सहित मध्यपूर्वका साथै भारत पाकिस्तान र मरुभूमिसँग जोडिएका देशहरू सदस्य छन् । सञ्जालको समन्वय एफएओले गर्दछ। त्यसका लागि छुट्टै सफ्ट्वेयर बनाएर किराको अनुगमन गर्ने गरिएको छ।

सलह रोकथाम तथा अध्ययनका लागि गठित कार्यदलले छोटो समयमै नेपालका एक सय जना कृषि प्राविधिकलाई एफएओबाट तालिम दिलाएको थियो । त्यस बाहेक सलह किरा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा टास्कफोर्स बनाउनुपर्ने सुझाव सहितको प्रतिवेदन पनि प्राविधिक समितिले सरकारलाई बुझाएको थियो।

कार्यदलका संयोजक हुमागाईंका अनुसार रोग किरा नियन्त्रणका लागि आकस्मिक कोषको व्यवस्थापन गर्न पनि सुझाव दिइएको छ । प्रत्येक वर्ष नयाँ नयाँ किराहरूको प्रकोप बढेकाले त्यसको नियन्त्रण गर्न आवश्यक कोषको व्यवस्थापन गर्न सुझाव दिइएको उनले जानकारी दिए ।

गतवर्ष अमेरिकी फौजी किराको प्रकोप देखिएको थियो भने तीन वर्षअघि गोलभेंडामा नयाँ जातको किराले सताएको थियो ।

हिमाल खबर पत्रिकाबाट साभार ।

Back to top