कोरोना जित्नेहरूको कथा

179


वीरगन्ज १० असार । चितवन भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालका फिजिसियन हुन्, डा. किशोर गौतम । २६ जेठमा उनी ओपिडीमा बिरामी जाँच्दै थिए । अपराह्न १ बजे फोन आयो । र, भनियो– ‘तपाईंलाई कोभिड–१९ पोजिटिभ देखियो ।’ उनमा कोरोना संक्रमणको कुनै लक्षण देखिएको थिएन । फोन राख्नासाथ उनी आफ्नो निवास फर्किए । र, आइसोलेसनमा बसे । सहकर्मीहरूको फोन आइरहेको थियो । उनी भने अपराह्न ४ बजे स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन पर्खिंदै थिए । त्यो तीन घन्टा चिन्ता र डरमा बित्यो । भगवान्सँग प्रार्थना गर्दै बसे । पत्रकार सम्मेलनपछि मात्र परिवारलाई जानकारी दिन फोन गरे । त्यतिन्जेलमा परिवारले थाहा पाइसकेको रहेछ ।

आफूमा कसरी कोरोना संक्रमण भयो भन्ने उनलाई यकिन छैन । नारायणी सामुदायिक अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदैनथ्यो । ज्वरो र खोकीका बिरामीका लागि पनि अलग्गै व्यवस्था थियो । ओपिडीमा आएका कुनै बिरामीबाटै आफूलाई संक्रमण भएको उनलाई लाग्छ । भन्छन्, ‘बिरामीले समस्या लुकाउँदाको परिणाम हो, यो ।’


संक्रमण पुष्टि भएको दुई दिन उनले आफ्नै फ्ल्याटमा बिताए । त्यसपछिका नौ दिन नारायणी सामुदायिक अस्पतालमै उनको उपचार भयो । अस्पताल बसेको नवौँ दिन २ असारसम्ममा उनी संक्रमणमुक्त भइसकेका थिए । संक्रमणका वेला पर्याप्त आराम गर्नुपर्ने राम्ररी बुझेका उनी दैनिक आठ घन्टा सुत्थे । त्यसबीचमा एउटा सिटामोल पनि खानु परेन । दैनिक एक घन्टा योग गर्थे । बिहानको खानापछि पुस्तक र गीत–संगीतमा हराउँथे । कागतीसहितको तातो पानी प्रशस्त पिए, फलफूल खाए । ‘सन्तुलित खाना र आत्मविश्वासले नै कोरोना जितेँ,’ उनी भन्छन्, ‘कोभिड–१९ रोगभन्दा डरको महामारी ज्यादा हो । अब समाजमा फैलिएको भ्रम हटाउन लागिपर्छु ।’

भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालका डा. किशोर गौतम भन्छन्, ‘सन्तुलित खाना र आत्मविश्वासले नै कोरोना जितेँ । कोभिड–१९ रोगभन्दा डरको महामारी ज्यादा हो । अब समाजमा फैलिएको भ्रम हटाउन लागिपर्छु ।’

दुई वर्षदेखि लन्डन बस्दै आएका हास्यकलाकार सुवास कार्की ‘बेलासे’ले कोरोना संक्रमण हुन नदिन पन्जा, मास्क र स्यानिटाइजरको प्रयोग गरिरहेकै थिए । २३ अप्रिल (११ वैशाख)मा जिउ दुख्यो र ज्वरो आउन थाल्यो । दुई दिन अपार्टमेन्टमै आराम गरे । ठीक नभएपछि अस्पताल गए । अस्पतालले भर्ना लिएर उनको जाँच थाल्यो । करिब १४ घन्टा अस्पतालमा बिताए । तर, कोभिड–१९ परीक्षण नगरी रगतमा खराबी छ भन्दै डिस्चार्ज दिइयो । अपार्टमेन्टमा फर्केपछि श्वासप्रश्वासको समस्या पनि थपियो । त्यसपछि मात्र अस्पतालले कोभिड–१९ परीक्षण गर्‍यो । र, रिपोर्ट पोजिटिभ आयो ।

त्यतिन्जेलमा श्रीमती र एक वर्षकी छोरीलाई पनि कोरोना संक्रमण भइसकेको थियो । १३ वर्षका छोरालाई भने लक्षण देखिएन । कार्कीलाई १४ दिनसम्म लगातार ज्वरो आइरह्यो । एकपटक सिटामोल खाएपछि करिब चार घन्टा ज्वरो ठीक हुन्थ्यो, फेरि हनहनी आउँथ्यो । बिस्तारै खोकी लाग्न थाल्यो । एक समय त उनलाई अत्यास लागेको थियो । १४ दिनपछि भने श्रीमती र छोरीसहित उनी पनि संक्रमणमुक्त भए । र, अहिले अपार्टमेन्टमै आराम गरिरहेका छन् । ‘सबैभन्दा ठूलो कुरा मनोबल रहेछ । मनोबल कमजोर बनाउन नहुने रहेछ,’ उनी भन्छन्, ‘कोभिड–१९ लाई उपचारभन्दा आत्मविश्वासले जितिने रहेछ ।’

२९ चैतमा पर्सामा पहिलोपटक कोरोना संक्रमण देखियो । ती संक्रमित छपकैयामा बस्दै आएका भारतीय नागरिक थिए । २४ वैशाखमा फेरि एकै परिवारका १७ जनामा संक्रमण देखियो । वीरगन्जका पत्रकारद्वय श्याम बन्जारा र सुरेश बिडारी छपकैया पुगेर स्थलगत रिपोर्टिङ गरे । सक्दो सावधानी त अपनाएका थिए । तर, फर्केर स्वाब परीक्षणका लागि नमुना दिए । ३० वैशाखमा दुवैमा कोभिड–१९ पोजिटिभ भएको रिपोर्ट आयो ।

३० वैशाखमा वीरगन्जका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नो पनि पोजिटिभ रिपोर्ट आएको पत्रकार बिडारीले कल्पना पनि गरेका थिएनन् । उनले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायलाई संक्रमितहरूको ‘ट्राभल हिस्ट्री’बारे सोधे । उनले हाँस्दै बिडारीकै ‘ट्राभल हिस्ट्री’ सोधे । सुरुमा त कुरा बुझेनन्, डा. उपाध्यायले नै उनमा पनि संक्रमण देखिएको बताएपछि भने छाँगाबाट खसेझैँ भए । बन्जारा र बिडारी दुवै १४ दिन नारायणी अस्पतालमा उपचारपछि डिस्चार्ज भए । ‘कोरोनालाई आत्मबलले नै जित्यौँ,’ बिडारी भन्छन् ।

अस्पतालबाटै बन्जारा र बिडारीले त्यहाँको कमजोर व्यवस्थापनबारे जानकारी दिँदै स्वास्थ्यमन्त्रीलाई पत्र लेखे । उनीहरू उपचाररत छँदै खानाको गुणस्तर फेरियो, खाजामा फलफूल दिन थालियो । ‘आइसोलेसनको शौचालय एकदमै फोहोर थियो, खानेकुराको व्यवस्थापन पनि निकै कमजोर थियो,’ बिडारी भन्छन् । आइसोलेसनमा छँदा उनीहरू तातो पानीमा बेसार, दालचिनी, अदुवा राखेर पिउँथे । तनाव व्यवस्थापन गर्न नाचगान, व्यायाम गर्दै सकेसम्म खुसी हुने बहाना खोज्थे ।

पत्रकार बन्जारा पत्रकार महासंघ पर्साका अध्यक्ष पनि हुन् । उनी भन्छन्, ‘आइसोलेसनमा बिरामीलाई पर्याप्त परामर्शको आवश्यकता हुने रहेछ । खोप र औषधि तयार नहुँदासम्म रोगप्रतिरोधी क्षमता र आत्मबल बढाउनुको विकल्प छैन ।’ उनीहरूले अस्पतालमा बसुन्जेल कुनै औषधि सेवन गरेनन् । परिवार र समाजबाट पाएको हौसला नै कोरोना जित्न काफी बन्यो । साभार nayapatrikadaily.com बाट



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here