×

 

देश भ्रमण वर्ष २०२० मा प्रवेश गरिसक्यो तर पर्सामा जिल्ला भने कुनै तामझाम छैन। सरोकारवाला संस्था तथा पदाधिकारीहरु सामाजिक सञ्जालका भित्ताभरी भिजिट नेपाल २०२० राखेर भब्य प्रचारप्रसार भएको आत्मरतिमा रमाइरहेको होटल व्यवसायीको आरोप छ।

यस्तो अवस्थामा वीरगंजमा कसरी भ्रमण वर्ष सफल होला? यसै सन्दर्भमा पर्सास्थित होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तसँग राधेश्याम पटेलले वीरगंजमा भ्रमण वर्ष २०२० को तयारी कस्तो छ भनेर सोधेका छन्।

पर्सा जिल्लाको कुरा गर्ने हो भने यहाँ अहिलेसम्म भ्रमण वर्षको २०२० को तयारी शून्य छ । यसरी बिना तयारी हचुवाको भरमा घोषणा गरिएको भ्रमण वर्षले पर्सा जिल्लालाई रतिभर पनि छुन्छ जस्तो मलाइ लाग्दैन । यस क्षेत्रमा भ्रमण वर्षको नाममा ३/४ वटा सभा-गोष्ठी भए होलान्, तारे होटलमा गरिने यस्ता सभा गोष्ठीले यस क्षेत्रका पर्यटन प्रवर्द्धनमा माखो पनि मार्दैन । हामीले त्यस्ता अनुत्पादक फजुल खर्चलाई यस क्षेत्रको सम्भावित पर्यटकीय स्थलको पहिचान र प्रवर्द्धनमा खर्च गर्न सकेको भए अहिलेसम्म ती प्रवर्द्धित क्षेत्रको प्रचार प्रसारमा निस्किसक्नु पर्ने थियो, तर हामी त अभियान को पूर्वसन्ध्यामा आइपुग्दै गर्दा पनि भ्रमण वर्षको नाम मात्र जपेका छौं, केही गरेका छैनौ ।

जिल्ला र महानगरले त भ्रमण वर्ष सफल पार्न समिती पनि गठन गरेको थियो त ?

हो महानगरले ३ र ४ महिना अगाडी केन्द्र बाट महानगरिय पर्यटन प्रवर्द्धन गर्न दबाब आएपछि झारो टार्न एउटा समिति गठन गरेको थियो, त्यो समितिमा म पनि छु । तर अहिलेसम्म त्यो समितिको पहिलो बैठकसम्म पनि बस्न सकेको छैन ।

अनि प्रदेश सरकार मातहत रहेको भ्रमण वर्ष २०२० समितिको परामर्शमा जिल्लाले पनि नेपाल भ्रमण बर्ष समन्वय समिति गठन गरेको थियो त, उसले पनि केही काम गरेको छैन ?

जिल्लाले पनि गठन त गरेको छ त्यसमा मलाई पनि राखिएको थियो ।तर हामीलाई त्यो समिति ले कुनै काम गर्न सक्छ जस्तो नलागेको र त्यसमा सैद्धान्तिक असहमति पनि हुन गएकाले धेरै सरोकारवाला साथीसँगै मैले पनि राजिनामा दिइसकेको छु । अब हामी महनगरसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छौ ।

जिल्लाको पर्यटन वृद्धि कसरी हुन्छ त ?

हाम्रो मात्र एकल प्रयासले यहाँको पर्यटनको दिगो विकास असम्भव छ । वास्तवमा भन्ने हो भने हामीले त आएका पर्यटकलाई स्तरीय सेवा दिएर उनीहरूलाई खुसी पार्ने मात्र हो ।

बढीभन्दा बढी पर्यटक देशमा निम्त्याउन त राज्य नै लाग्नुपर्छ । विदेशमा रहेको आफ्नो दूतावासमार्फत यहाँको पर्यटकीय स्थलको प्रचारप्रसार गर्नु पर्दछ । अझ भन्ने हो भने हामीले त राज्यलाई हाम्रो स्थानीय पर्यटकीय स्थलको प्रवर्द्धन तथा प्रचारप्रसार गराइ देउ भनेर लबिङ गर्ने हो । तर हामीले पनि आफ्नो कर्तब्यबोध भएर स्थानीय स्तरबाट नै पर्यटकीय स्थलको पहिचान प्रवर्द्धन र प्रचारप्रसार गर्न लागि परेका छौं । चाडै नै भारतको छिमेकी सहरहरु मा गएर हाम्रा स्थानीय पर्यटकीय स्थललगायतको प्रचारप्रसार गर्नेछौ तथा सक्दो पर्यटक तान्न प्रयास रहने छ ।

पर्सा र बारामा पर्यटकलाई कहाँकहाँ घुम्न लायकको ठाउँ छ, अनि होटलहरुमा कस्तो सुविधा छ ?

पर्सा बारा भनेको आर्थिक नगरी तथा प्रमुख औद्योगिक करिडोर हुनुको अलावा पर्यटकीय हिसाबले पनि एउटा प्रदेश २ को एउटा मुख्य गन्तव्य मध्येको एक हो । बाराको गढिमाई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्ज, पर्साको पारसनाथ मन्दिर, कोइलाभार मन्दिर, बाराको सिम्रौनगढ, जितपुर-सिमराको फास्ट ट्रयाक, पाइपलाइन, पर्सा, पटेर्वा सुगौली (निकुञ्ज भित्रको ) रामभौरी भाथा लगायतका स्थानमा पर्यटकलाई घुमाउन सकिन्छ। वीरगंजको गहवामाई मन्दिर, घडिअर्वा पोखरी तथा शंकराचार्य गेट र आइसीपी नाकाको निरीक्षण पनि गराई क्रस बोर्डरमा कसरी सवारीसाधन तथा मालसमान आउँछन् जान्छन् भन्ने विषयमा पर्यटकलाई घुमाउन सकिने सम्भावना रहेको छ । साभार bizmandu.com

Back to top