एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशन सम्पन्न भएको करिब एक महिनापछि केन्द्रीय समिति विस्तारको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। बुधबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले मनोनीत हुने केन्द्रीय सदस्य तथा पदाधिकारी चयनबारे निर्णय गर्ने तयारी गरेको हो।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, संगठनात्मक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान र कार्यक्रम सञ्चालनलगायतका विषयमा छलफल हुनेछ।
रास्वपाको विधानअनुसार पार्टी सभापति रवि लामिछानेलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहेको छ। यद्यपि, पार्टीभित्र देखिएको आन्तरिक शक्ति–सन्तुलनका कारण यसै बैठकबाट केन्द्रीय समितिले पूर्णता पाउने सम्भावना भने न्यून रहेको स्रोतहरूको भनाइ छ।
पार्टीभित्र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र सभापति रवि लामिछाने निकट समूहबीच मनोनयनको विषयलाई लिएर सहमति जुट्न बाँकी रहेको बताइएको छ। दुवै पक्षबीच केन्द्रीय सदस्य तथा पदाधिकारी चयनमा भागबन्डाको विषयमा निरन्तर छलफल भइरहेको स्रोतको दाबी छ।
महाधिवेशनबाट संशोधनसहित पारित विधानअनुसार रास्वपामा १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ। असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट सभापतिसहित सात पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अब ५१ जना केन्द्रीय सदस्य तथा केही पदाधिकारी मनोनयन हुन बाँकी छन्।
हाल एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष पद रिक्त रहेका छन्। रास्वपाको विधानअनुसार पदाधिकारी बन्नुअघि केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था भएकाले बैठकले पहिले केन्द्रीय सदस्य मनोनयन गरी त्यसपछि पदाधिकारी चयन गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।
महाधिवेशनबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका थिए।
पार्टी स्रोतका अनुसार वरिष्ठ नेता बालेन शाह पक्षले मनोनयनका लागि प्रस्तावित नामावली समयमै उपलब्ध नगराउँदा केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको हो।
यस्तै, उपसभापति पदका लागि हालका गृहमन्त्री सुधन गुरुङको नाम चर्चामा रहेको स्रोतले जनाएको छ। यद्यपि, सुनसरी घटनापछि उनको राजीनामाको माग उठिरहेका बेला उनलाई उपसभापति बनाउने तयारी भइरहेको दाबी पनि गरिएको छ। उपसभापति पदमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको समेत दाबी रहेको बताइएको छ।
स्रोतका अनुसार सभापति रवि लामिछाने भूगोल, समावेशी प्रतिनिधित्व र कार्यक्षमतालाई आधार बनाएर केन्द्रीय समितिलाई छिट्टै पूर्णता दिने पक्षमा छन्। मनोनीत केन्द्रीय सदस्यको बाँडफाँटमा लामिछाने पक्षले ६०–४० को अनुपात प्रस्ताव गरेको भए पनि बालेन समूहले ५०–५० को अडान राखेको बताइएको छ। पछिल्लो छलफलमा भने बालेन पक्षलाई करिब २० जना केन्द्रीय सदस्य मनोनयन गर्ने सहमति नजिक पुगेको स्रोतको दाबी छ।
त्यसैगरी, बालेन पक्षको भागमा पर्ने महामन्त्री पदका लागि निवर्तमान महामन्त्री भूपदेव शाह र केन्द्रीय सदस्य सुदीप ढकालबीच प्रतिस्पर्धा रहेको बताइएको छ। पार्टीभित्र दुवै नेताबीच पदका लागि तीव्र प्रतिस्पर्धा भइरहेको स्रोतको भनाइ छ।
यद्यपि, पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी विषयमा पार्टीले अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरेको छैन। बुधबार बस्ने केन्द्रीय समिति बैठकपछि रास्वपाको संगठनात्मक संरचनाले थप स्पष्टता पाउने अपेक्षा गरिएको छ।