वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि सुरु भएको विवाद झन् जटिल बन्दै गएको छ । चिकित्सक, मृतकका परिवार, स्थानीय नेतृत्व तथा नागरिक समाजबिच आरोप–प्रत्यारोप तीव्र भइरहेका बेला अस्पतालको सेवा प्रभावित हुँदा उपचारका लागि आउने हजारौँ बिरामी प्रत्यक्ष मारमा परेका छन् ।
घटनाको केन्द्रमा रहेका मृतकका परिवारले उपचारमा चिकित्सकीय लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । अर्कोतर्फ, आन्दोलनरत चिकित्सकहरूले आफूहरूमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको भन्दै दोषीमाथि कानुनी कारबाही र सुरक्षित कार्य वातावरणको माग गर्दै आन्दोलन जारी राखेका छन् ।
पछिल्ला चार दिनदेखि नारायणी अस्पतालको नियमित सेवा प्रभावित हुँदा दैनिक उपचारका लागि आउने बिरामीहरू सेवा नपाएर अलपत्र परेका छन् । यसले सर्वसाधारणमा चिन्ता बढाएको छ ।
सार्वजनिक रूपमा व्यक्त धारणाअनुसार स्थानीय प्रहरी–प्रशासनले संवेदनशील ढङ्गले परिस्थितिको व्यवस्थापन गर्न नसक्दा नारायणी अस्पतालबाट सुरु भएको आन्दोलन देशव्यापी बन्न पुगेको दाबी गरिएको छ । आन्दोलनरत चिकित्सकहरूसँग संवादमार्फत समाधान खोज्नुको सट्टा प्रशासनले कठोर व्यवहार देखाएको आरोपसमेत लगाइएको छ ।
चिकित्सकहरूले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला वार्ताका लागि बोलाइएका प्रतिनिधिमाथि दुर्व्यवहार र धम्की दिइएको आरोप सार्वजनिक रूपमा उठाइएको छ । यस्ता संवेदनशील घटनामा प्रशासनले संयतता अपनाई संवाद र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
यस्तै, बिरामीको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्ने विषय निष्पक्ष छानबिनबाट मात्रै पुष्टि हुन सक्ने भएकाले घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको आक्रमण तथा त्यसपछिको प्रशासनिक भूमिकाको पनि निष्पक्ष छानबिन हुनुपर्ने धारणा व्यक्त गरिएको छ ।
घटनालाई थप जटिल बनाएको आरोप लागेका प्रशासनिक अधिकारीहरूको भूमिकाबारे पनि आवश्यक अनुसन्धान गरी जिम्मेवारीअनुसार कारबाही गर्नुपर्ने आवाज उठेको छ । साथै, चिकित्सकको आवरणमा कुनै राजनीतिक उद्देश्यसहित गतिविधि भएको पुष्टि भए त्यस्तो कार्यमा संलग्नलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
सरकारसँग नारायणी अस्पतालको विवाद तत्काल समाधान गरी देशभर प्रभावित स्वास्थ्य सेवा नियमित गराउन प्रभावकारी पहल गर्न आग्रह गरिएको छ । आन्दोलनरत चिकित्सकलाई सुरक्षित कार्य वातावरणको सुनिश्चिततापछि सेवामा फर्किन तथा मृतकका परिवारलाई निष्पक्ष न्यायिक प्रक्रियाप्रति विश्वास दिलाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
यसैगरी, घाइते चिकित्सकको प्रभावकारी उपचार, अस्पतालमा सुरक्षा व्यवस्था सुदृढीकरण, दोषीमाथि निष्पक्ष कानुनी कारबाही तथा कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने वातावरण सुनिश्चित गर्न सरकारसँग सरोकारवालाहरूले माग गरेका छन् ।