वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडको विरोधमा सुरु भएको आन्दोलन थप चर्किएको छ। घटनाको विरोध गर्दै नारायणी अस्पतालका ३० भन्दा बढी चिकित्सकले सोमबार राति सामूहिक राजीनामा दिएका छन् भने नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिक (इमरजेन्सी) बाहेकका सबै सेवा बन्द गर्न आह्वान गरेको छ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ७० जना चिकित्सकमध्ये ३० भन्दा बढी चिकित्सकले सोमबार राति करिब १० बजे अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। बाँकी चिकित्सकहरूले पनि राजीनामाका लागि हस्ताक्षर संकलन गरिरहेको जनाइएको छ।
गत साउन ९ गते (शनिबार) उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा अस्पतालको आकस्मिक कक्षमा तोडफोड हुनुका साथै कार्यरत चिकित्सकमाथि आक्रमण भएको थियो। सोही घटनाको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा, घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही तथा अस्पतालमा सुरक्षित कार्य वातावरणको सुनिश्चितता गर्न माग गरेका छन्।
नेपाल चिकित्सक संघले घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारबाही नगरेको तथा आन्दोलनका क्रममा संघका केन्द्रीय कार्यकारिणी सदस्य, नारायणी शाखाका अध्यक्षसहित चिकित्सकहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा दोषीमाथि प्रभावकारी कानुनी कारबाही नभएसम्म आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी पनि दिएको छ। चिकित्सकहरूको आन्दोलन र सेवा बन्दको घोषणापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले कुनै पनि अवस्थामा उपचार सेवा अवरुद्ध नगर्न सबै अस्पताललाई निर्देशन दिइएको छ।
मन्त्रालयले स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै सुरक्षित र सम्मानजनक वातावरणमा स्वास्थ्य सेवा सञ्चालन गर्ने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।
नारायणी अस्पतालमा भएको घटनाले अहिले देशभरका चिकित्सक समुदायलाई आन्दोलनमा उत्रिन बाध्य बनाएको छ भने स्वास्थ्य सेवा, स्वास्थ्यकर्मीको सुरक्षा र नागरिकको उपचार अधिकारबीच सन्तुलन कायम गर्ने विषय राष्ट्रिय बहसको केन्द्र बनेको छ।