वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका राजकुमार पटेलका परिवारजन तथा आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै वीरगञ्जको बहुअरी (ड्राइपोर्ट) चोकमा धर्ना दिएका छन्।
धर्नामा सहभागीहरूले उपचारमा लापरबाही भएको आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्न, निष्पक्ष छानबिन गर्न तथा दोषी प्रमाणित हुने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले पीडित परिवारले न्याय नपाएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन्।
गत शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ५० वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै नारायणी अस्पताल परिसरमा प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा अस्पतालको आकस्मिक कक्षमा तोडफोड भएको थियो भने अस्पताल प्रशासनका अनुसार कार्यरत चिकित्सकमाथि पनि आक्रमण भएको थियो। उक्त आक्रमणमा मेडिकल अफिसर डा. प्रमोद राम गम्भीर घाइते भएका छन्। उनको हाल सघन उपचारका लागि उपचार भइरहेको छ।
घटनापछि मृतक पक्षले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् भने अर्कोतर्फ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थामाथिको हिंसाको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरिरहेका छन्। यस घटनाले नारायणी अस्पतालको उपचार सेवा तथा समग्र स्वास्थ्य क्षेत्रमै गम्भीर बहस सिर्जना गरेको छ।