×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । नारायणी अस्पतालमा हालै भएको घटनापछि गठन गरिएको भनिएको छानबिन समितिमा आफ्नो नाम समावेश गरिए पनि त्यसबारे आफूलाई कुनै जानकारी नदिइएको भन्दै डा. निरज कुमार सिंहले उक्त समितिमा नबस्ने घोषणा गरेका छन्।

डा. सिंहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नारायणी अस्पतालमा हिजो आयोजित कुनै पनि बैठकमा सहभागी नभएको र आफ्नो सहमति तथा जानकारीबिना छानबिन समितिमा नाम समावेश गरिएको बताएका हुन्।

उनले यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई औपचारिक रूपमा जानकारी गराइसकेको उल्लेख गरेका छन्।

डा. सिंहका अनुसार घटनाको निष्पक्ष र विश्वसनीय छानबिन सुनिश्चित गर्न नेपाल मेडिकल काउन्सिललाई समेत आवश्यक पहल गर्न अनुरोध गरिएको छ। “कुनै पनि निर्णयमा मेरो हस्ताक्षर छैन र मैले कुनै निर्णय गरेको पनि छैन,” डा. सिंहले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्।

नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादको छानबिनका लागि गठन गरिएको भनिएको समितिमा आफ्नो संलग्नता नरहेको, सहमति र जानकारीबिनै नाम समावेश गरिएको दाबी गर्दै उनले समितिमा नबस्ने स्पष्ट निर्णय सार्वजनिक गरेका हुन्।

यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा नारायणी अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया भने यस समाचार तयार पार्दासम्म सार्वजनिक भएको छैन।

Back to top