×

वीरगञ्ज । पूर्वी नवलपरासी (नवलपुर) को गैंडाकोट नगरपालिका–१० अकलामाई मन्दिर नजिक अचेत भेटिएका दुई महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट नगरपालिका–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई छन्।

उनीहरुको मृत्युको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

ती महिलाहरुलाई स्थानीयले आइतबार दिउँसो अचेत अवस्थामा मन्दिर नजिक फेला पारेका थिए। स्थानीयले दिएको सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले दुवै महिलालाई उपचारका लागि नगर अस्पताल भेँडाबारी पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Back to top