×

वीरगञ्ज । महिला स्वास्थ्य, सम्मान तथा सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले मानवीय प्रेम परोपकार कोषको आयोजनामा पर्साको धोबिनी गाउँपालिका–५, जगरनाथपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा महिनावारी स्वास्थ्य तथा स्वच्छतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

‘स्वस्थ महिला, सशक्त समाज’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा २ सय भन्दा बढी किशोरी तथा महिलाको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा महिनावारीसँग जोडिएका सामाजिक भ्रम, गलत धारणा तथा संकोच हटाउँदै सुरक्षित र स्वस्थ महिनावारी व्यवस्थापनका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मी गौरी परियारले महिनावारी स्वास्थ्य, व्यक्तिगत सरसफाइ, स्यानिटरी प्याडको सही प्रयोग, समयमै प्याड परिवर्तन गर्ने तरिका, प्रयोगपछि सुरक्षित व्यवस्थापन तथा महिनावारीका बेला अपनाउनुपर्ने स्वास्थ्य सावधानीबारे सहभागीलाई जानकारी गराउनुभएको थियो।

स्वास्थ्यकर्मी परियारले महिनावारीलाई प्राकृतिक स्वास्थ्य प्रक्रिया रूपमा बुझ्दै यस अवधिमा व्यक्तिगत सरसफाइ र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने विषयमा सहभागीलाई सचेत गराउनुभएको थियो। प्रशिक्षणबाट किशोरी तथा महिलाले सुरक्षित, स्वस्थ र सम्मानजनक रूपमा महिनावारी व्यवस्थापन गर्ने आवश्यक ज्ञान प्राप्त गरेको आयोजकले जनाएको छ।

जनचेतनामूलक कार्यक्रमपछि सहभागी २ सय भन्दा बढी किशोरी तथा महिलालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको थियो। महिनावारीसम्बन्धी सही जानकारीसँगै आवश्यक सामग्रीमा पहुँच बढाउन सके महिलाको स्वास्थ्य, आत्मविश्वास र सामाजिक सहभागितामा सकारात्मक प्रभाव पार्न सकिने आयोजकको विश्वास छ।

कार्यक्रममा मानव प्रेम परोपकारी कोष का सचिव मो. रिजवान अन्सारी, प्रमुख सल्लाहकार मुकेश पटेल, वित्त सल्लाहकार मो. खालिद जेया तथा सदस्य अजय पटेल लगायतको उपस्थिति तथा सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, स्वास्थ्यकर्मी, सहभागी किशोरी तथा महिलाहरू र सहयोगी महानुभावप्रति मानवीय प्रेम परोपकार कोषले धन्यवाद तथा आभार व्यक्त गरेको छ।संस्थाले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण तथा मानवीय सेवासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

संस्थाले स्वास्थ्य, स्वच्छता र सम्मानका लागि आफ्नो अभियान निरन्तर जारी रहने जनाएको छ।

Back to top