×

 

वीरगञ्ज। सरकारले आइतबार दिइँदै आएको सार्वजनिक बिदा तत्काल खारेज गर्ने कुनै योजना नरहेको स्पष्ट गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आइतबारको बिदाबारे फैलिएका भ्रमको खण्डन गर्दै दुईदिने सार्वजनिक बिदाको व्यवस्था यथावत् रहने बताएका हुन्।

शिक्षा पत्रकारहरूसँगको छलफलमा मन्त्री पोखरेलले अधिकांश देशमा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको उल्लेख गर्दै नेपालमा पनि हालको व्यवस्था निरन्तर रहने बताए।

“दुई दिन बिदा कायम हुन्छ। सरकारले तत्काल बिदा हटाउने सोचेको छैन। अन्तर्राष्ट्रिय अभ्यास पनि प्रायः दुई दिन नै बिदा हुने गरेको छ,” मन्त्री पोखरेलले भने।

सरकारले पश्चिम एसियामा देखिएको संकटका कारण इन्धनको मूल्यवृद्धिबाट परेको प्रभावलाई मध्यनजर गर्दै गत २२ चैत बसेको मन्त्रिपरिषद् बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो। उक्त व्यवस्था हाल सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू छ।

यद्यपि, आइतबारको बिदाले शैक्षिक गतिविधि प्रभावित भएको र सरकारी अस्पतालको सेवा प्रवाहमा समेत असर परेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको छ।

यसअघि केही सञ्चारमाध्यममा सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने तयारी गरेको समाचार सार्वजनिक भएपछि सरकारले त्यसको खण्डन गरेको थियो।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भन्ने समाचार सत्य नभएको स्पष्ट गर्दै सरकारले यस्तो कुनै निर्णय नगरेको बताएकी थिइन्।

Back to top