वीरगञ्ज। एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो २९औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्जस्थित पशुपतिनाथ मन्दिर परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा स्वच्छ वातावरण निर्माणमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका वीरगञ्ज सर्कल हेड गोपाल प्रसाद सुवेदी, वीरगञ्ज शाखा प्रबन्धक अमित कुमार हरलालका, जीतपुर शाखा प्रबन्धक लक्ष्मण गिरी, कलैया शाखा प्रबन्धक अमृत रानासहित वीरगञ्ज क्षेत्रअन्तर्गतका विभिन्न शाखाका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा बैंकका कर्मचारीहरूले पशुपतिनाथ मन्दिर परिसरको सरसफाइ गर्दै धार्मिक स्थललाई स्वच्छ, सफा र व्यवस्थित राख्न सामूहिक रूपमा श्रमदान गरेका थिए।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक तथा सार्वजनिक स्थलको संरक्षण र स्वच्छता प्रवर्द्धनका यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
विगत २९ वर्षदेखि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको एनआइसी एशिया बैंकले आगामी दिनहरूमा पनि सामाजिक, वातावरणीय तथा समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।