एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।
दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङ साउन ३ गते बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका बेला विमानस्थलको सुरक्षा जाँचका क्रममा पक्राउ परेका हुन्। यद्यपि, घटनाबारे प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार तामाङको झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद गरिएको थियो।
बरामद रकमको स्रोतबारे सोधपुछ गर्दा तामाङले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो।
मोरङ प्रहरीले बरामद नगदको स्रोत खुल्न नसकेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले रकमको वैधानिक स्रोत, प्रयोगको उद्देश्य तथा अन्य सम्भावित पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ।