×

एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।

वीरगञ्ज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनै पनि प्रकारको राजनीतिक दबाब वा प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले सरकारले कार्यसम्पादन र नतिजालाई प्राथमिकतामा राखेको बताए।

उनले वर्तमान सरकार र प्रधानमन्त्रीले नतिजामुखी कार्यशैलीलाई विशेष महत्व दिएको उल्लेख गर्दै व्यक्तिगत चिनजान, पहुँच वा राजनीतिक प्रभावका आधारमा होइन, क्षमता, योग्यता र कार्यसम्पादनका आधारमा जिम्मेवारी दिइने बताए।

अर्थमन्त्री वाग्लेका अनुसार प्रधानमन्त्रीले विधिसम्मत रूपमा काम गर्न र परिणाममुखी कार्यसम्पादन गर्न निरन्तर निर्देशन दिँदै आएका छन्। उनले सरुवा तथा बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको सोर्सफोर्स लगाउने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गरिने स्पष्ट पारे।

विगतमा सरुवा र बढुवाका लागि नेताहरू तथा विभिन्न गुटको सहारा लिने अभ्यासले कर्मचारीको समय र ऊर्जा दुवै खेर गएको उल्लेख गर्दै उनले अब त्यस्तो परिपाटीको अन्त्य गरिने बताए।

राजस्व प्रशासनमा सुधार र कर्मचारीको मनोबल उच्च बनाउन आफू देशभरका भन्सार तथा कर कार्यालयहरूको स्थलगत अनुगमनमा जाने प्रतिबद्धता पनि उनले व्यक्त गरे। कर्मचारीहरूलाई आफ्ना समस्या, चुनौती वा गुनासा भए सिधै अर्थ मन्त्रालयमा जानकारी गराउन उनले आग्रह गरे।

कार्यक्रममा उनले भने, "राजनीतिक दबाब कुनै पनि हालतमा स्वीकार गरिने छैन। हाम्रो प्राथमिकता व्यक्ति होइन, नतिजा हो। प्रधानमन्त्रीले पनि बारम्बार भन्नुहुन्छ—कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो होइन, नतिजा आउनुपर्छ।"

सुशासन र प्रणाली सुधारप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले कतै अनियमितता वा भ्रष्टाचार भएको प्रमाण भेटिएमा तत्काल मन्त्रालयलाई जानकारी गराउन कर्मचारीहरूलाई निर्देशन दिए। उनले यो अभियान कुनै व्यक्तिविशेषविरुद्ध नभई समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले अघि बढाइएको बताए।

Back to top