×

वीरगञ्ज । ब्लड फर नेपालको ८औँ स्थापना दिवसको अवसरमा पर्सा र बाराका सात विद्यालय तथा कलेजमा सञ्चालन गरिएको सातदिने रक्तदान सचेतना कार्यक्रम सम्पन्न भएको छ।

ब्लड फर नेपालको आयोजनामा तथा रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानमार्फत विद्यार्थी तथा युवापुस्तालाई स्वैच्छिक रक्तदानको महत्वबारे जानकारी गराइएको आयोजकले जनाएको छ।

नेपालमा बेला–बेलामा देखिने रगत अभावको समस्यालाई मध्यनजर गर्दै युवाहरूमा स्वैच्छिक रक्तदानप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ब्लड फर नेपालले जनाएको छ।

कार्यक्रमका क्रममा रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका क्लब सर्भिस डाइरेक्टर रोट्र्याक्टर आलोक यादवले रक्तदानको महत्व, आवश्यकता, रक्तदानसम्बन्धी विद्यमान भ्रम तथा यसले मानव जीवन बचाउन पुर्‍याउने योगदानबारे सहजीकरण गरेका थिए।

सचेतना कार्यक्रममा आर्यन गुप्ता, नकुल गुप्ता, मनीष, आकाश तथा राहुलले सहजीकरणमा सहयोग गरेका थिए। साथै कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्‍याएको भन्दै आयोजक टोलीले रोट्र्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रामविनय यादवप्रति आभार व्यक्त गरेको छ।

सातदिने अभियानअन्तर्गत श्री जिल्ला उच्चलाङ्ग रमेश्वर माध्यमिक विद्यालय (पोखरिया), श्री सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय (वीरगञ्ज), ब्राइट कलेज (वीरगञ्ज), बेगा साह विद्यालय (पर्सौनी, बारा), श्री रामस्वरूप रामप्रीत चौधरी माध्यमिक विद्यालय (झौवा गुठी), बीपीसी कलेज (वीरगञ्ज) तथा डीएभी आरबी केडिया स्कूल (वीरगञ्ज) मा रक्तदानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

आयोजकका अनुसार यस्ता कार्यक्रमले युवापुस्तामा स्वैच्छिक रक्तदानप्रति सकारात्मक सोच विकास गर्नुका साथै भविष्यमा नियमित रक्तदाता बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

Back to top