×

वीरगञ्ज । चितवनको मुग्लिङ-नारायणगढ सडक खण्डअन्तर्गत जलवीरे नजिकै भएको बस दुर्घटनामा २५ बढी यात्रु घाइते भएका छन् । प्रहरीले दुर्घटनामा २५ बढी यात्रु घाइते भएको बताए पनि सङ्ख्या यकिन गरेको छैन ।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौँ र काठमाडौँबाट दाङ जाँदै गरेका दुई वटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो । काठमाडौँ जाँदै गरेको बा.प्र. ०३ ००१ ख १६७१ नम्बरको बस हो । दाङका लागि छुटेको बसको भने नम्बर खुलेको छैन । सोही बसका चालक गम्भीर घाइते छन् ।

दुर्घटना भएपछि अवरुद्ध भएको सडक अहिले खुलाइएको छ । घाइतेहरूको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ ।

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो ।

सडक खुला भए लगत्तै सवारी साधनहरूले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

Back to top