×

वीरगञ्ज । वीरगञ्जस्थित साउथ सिटी हिमाल अस्पतालले युरोलोजीसम्बन्धी रोगहरूको उपचारका लागि अत्याधुनिक थुलियम फाइबर लेजर (टीएफएल) प्रविधिसहितको शल्यक्रिया सेवा सुरु गरेको छ ।

प्रविधिको विकाससँगै स्वास्थ्य सेवामा आधुनिक उपचार पद्धति भित्र्याउँदै आएको अस्पतालले अब मिर्गौलाको ढुङ्गा, युरेटरको ढुङ्गा, मूत्राशयको ढुङ्गा तथा केही प्रोस्टेटसम्बन्धी समस्याहरूको उपचार टीएफएल प्रविधिमार्फत प्रभावकारी रूपमा गर्ने जनाएको छ ।

अस्पतालका अनुसार टीएफएल प्रविधि न्यून चिरफार (मिनिमली इनभेसिभ) विधिमा आधारित अत्याधुनिक लेजर उपचार पद्धति हो । यसले ढुङ्गालाई अत्यन्तै साना कणमा प्रभावकारी रूपमा फुटाउन सक्षम हुने भएकाले बिरामीलाई कम पीडा, न्यून रक्तस्राव र छिटो स्वास्थ्य लाभ मिल्ने बताइएको छ । साथै, उपचारपछि बिरामीले छोटो समयमै अस्पतालबाट डिस्चार्ज भएर दैनिक जीवनमा फर्किन सक्ने सुविधा प्राप्त गर्छन् ।

विशेषज्ञ चिकित्सकहरूको निगरानीमा सञ्चालन हुने उक्त सेवा सुरक्षित, प्रभावकारी र विश्वसनीय मानिएको छ । टीएफएल प्रविधिले उच्च सटीकताका साथ उपचार गर्ने भएकाले जटिल अवस्थामा समेत उत्कृष्ट परिणाम दिन सक्षम रहेको अस्पतालले जनाएको छ ।

साउथ सिटी हिमाल अस्पताल विगतदेखि नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रतिष्ठित संस्था हो । अनुभवी विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक उपकरण तथा बिरामी मैत्री वातावरणका कारण अस्पतालप्रति सेवाग्राहीहरूको विश्वास र सन्तुष्टि उच्च रहेको छ । अस्पतालले उपचार प्रक्रियामा पारदर्शिता, सुरक्षा र सेवाको गुणस्तरलाई प्राथमिकतामा राख्दै आधुनिक प्रविधि भित्र्याउने कार्यलाई निरन्तरता दिएको छ ।

अस्पताल प्रशासनले युरोलोजीसम्बन्धी समस्या भएका बिरामीलाई सुरक्षित, प्रभावकारी र आधुनिक समाधानका लागि साउथ सिटी हिमाल अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ । अत्याधुनिक प्रविधिसहितको उपचार सेवाले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास अस्पतालले व्यक्त गरेको छ ।

Back to top