×

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटी टोलकी ३४ वर्षीया हीरादेवी यादवको उपचारका क्रममा मृत्यु भएको छ। परिवारले कुटपिटबाट गम्भीर घाइते भएकी यादवको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मंगलबार (असार ३० गते) मृत्यु भएको जनाएको छ।

परिवारका अनुसार गत असार १८ गते बिहान करिब ११ बजे सार्वजनिक जग्गामा निर्माण भइरहेको बर्थिङ सेन्टरको बाटोसम्बन्धी विवादका क्रममा हीरादेवीमाथि कुटपिट भएको थियो। घटनामा गम्भीर घाइते भएपछि उनलाई प्रारम्भिक उपचारका लागि पोखरिया अस्पताल लगिएको थियो।

पोखरिया अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको र त्यहाँबाट पुनः वीरगञ्जस्थित न्युरो अस्पतालमा ल्याइएको परिवारले जनाएको छ। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

परिवारका अनुसार मृतकको शव पोस्टमार्टमपछि जिम्मा लगाइएको छ भने अन्त्येष्टि सम्पन्न भइसकेको छ।

यता, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार असार १८ गते बिहान करिब ११ बजे विवादको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसबेला अवस्था सामान्य देखिएकाले टोली फर्किएको थियो।

प्रहरी निरीक्षक पौडेलका अनुसार सोही दिन साँझ करिब ५ बजे भने महिला आफैं लडेर घाइते भएको र उपचारका लागि अस्पताल लगिएको भन्ने जानकारी प्रहरीलाई प्राप्त भएको थियो।

घटनाको वास्तविक कारण खुलाउन प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा दोषी देखिएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने प्रहरी निरीक्षक पौडेलले बताएका छन्।

Back to top