×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरवासीको सेवा, सुरक्षा तथा आपत्कालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिएका छन् ।

मङ्गलवार महानगरपालिकामा आयोजित नगर प्रहरीको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले संयुक्त रूपमा आवश्यक निर्देशन दिएका हुन् । सहरमा जारी सडक विस्तार अभियान र वर्षायामका कारण नगर प्रहरीको भूमिका थप महत्त्वपूर्ण बनेको भन्दै नागरिकको सेवामा निरन्तर खटिन आग्रह गरिएको हो ।

रोलकललाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले सडक विस्तारका कारण सहर केही अस्तव्यस्त बनेको उल्लेख गर्दै नाला व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापनसम्म नागरिकले दैनिक समस्या भोगिरहेको बताए । वर्षायामले थप चुनौती सिर्जना गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा नगर प्रहरी नागरिकको भरोसाको आधार बन्नुपर्नेमा जोड दिए ।

“सडक विस्तारका कारण सहर केही अस्तव्यस्त बनेको छ । नाला व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापनसम्म नागरिकले दैनिक सास्ती भोगिरहेका छन् । त्यसमाथि वर्षायामले थप चुनौती सिर्जना गरेको छ । यस्तो अवस्थामा नगर प्रहरी चौबिसै घण्टा नागरिकको सेवामा तयार रहनुपर्छ,” उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत बोहराले सीमित स्रोत–साधनका बाबजुद नगरवासीको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षण नगर प्रहरीको पहिलो जिम्मेवारी भएको बताए । आवश्यक उपकरण तथा सामग्री चाँडै उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै उनले कर्मचारी संयन्त्रमा अनुशासन र ‘चेन अफ कमान्ड’को पालना अनिवार्य रहेको उल्लेख गरे ।

“नगर प्रहरीका सबै रेकर्ड अध्ययन गरेको छु। करार, अस्थायी वा स्थायी जे भए पनि सबै कर्मचारीको जिम्मेवारी एउटै हो। अनुशासनमा रहेर इमानदारीपूर्वक काम गर्नुपर्छ। आगामी दिनमा अनुशासनहीनता देखाउने जोकोहीमाथि कानुनबमोजिम कारबाही हुनेछ,” बोहराले भने ।

महानगरपालिकाका अनुसार हाल नगर प्रहरीसम्बन्धी आएका गुनासोहरूलाई सुधार गर्दै सेवा प्रवाह प्रभावकारी बनाउन, सडक विस्तारका क्रममा आवश्यक सहजीकरण गर्न तथा आगामी गहवामाई रथयात्राको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन पनि नगर प्रहरीलाई निर्देशन दिइएको छ ।

Back to top