एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले जनताका समस्याको समाधान खोज्नुको सट्टा बल प्रयोग गरेर आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उपसभापति शर्माले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको अवस्था र गणेश नेपालीको आत्मदाहको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो।
उहाँले वर्षायामका बेला सुकुमबासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखिएका नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा जीवनयापन गर्न बाध्य भएको बताउनुभयो। साना बालबालिका, सुत्केरी महिला तथा ज्येष्ठ नागरिक भोक, रोग र असुरक्षाबीच बस्न विवश रहेको उल्लेख गर्दै उहाँले आफ्नै देशमा नागरिकहरू शरणार्थीजस्तै जीवन बिताउन बाध्य हुनु दुःखद भएको टिप्पणी गर्नुभयो।
उपसभापति शर्माले सरकारले प्रभावित नागरिकका लागि न्यूनतम मानवीय सहायता र सम्मानजनक व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै समस्या समाधानतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको पक्षमा शान्तिपूर्ण रूपमा आवाज उठाउने तथा प्रश्न गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि उहाँले आपत्ति जनाउनुभयो। असहमति र नागरिक आवाजलाई दमन गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बनाउने उहाँको भनाइ छ।
उहाँले सरकारले बल प्रयोग र दमनको बाटो छाडेर संवाद, संवेदनशीलता र जिम्मेवारीका साथ नागरिकका समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ।