वीरगञ्ज । वीरगञ्जस्थित जीवन ज्योति माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरूले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आशा किरण केन्द्रलाई खाद्यान्न तथा विभिन्न किराना सामग्री हस्तान्तरण गरेका छन्।
विद्यार्थीहरूले आफ्नै पहलमा संकलन गरेको दैनिक उपभोग्य सामग्री केन्द्रलाई सहयोगस्वरूप प्रदान गरेका हुन्। विद्यालयका अनुसार यस्ता सामाजिक सेवामूलक कार्यक्रमले विद्यार्थीमा मानवीय भावना, सहयोगको संस्कार तथा सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि हुने विश्वास लिइएको छ।
सहयोग सामग्री ग्रहण गर्दै आशा किरण केन्द्रका प्रतिनिधिहरूले विद्यार्थी तथा विद्यालय परिवारप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस्तो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहयोग र सहकार्यको संस्कृतिलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
विद्यालयका वित्तीय निर्देशक निखिल गुप्ताले विद्यालय तहदेखि नै विद्यार्थीहरूमा सामाजिक भावना, मानवीय संवेदना र सेवाभावको विकास गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँले शिक्षासँगै सामाजिक उत्तरदायित्वको भावना विकास गर्नु पनि विद्यालयको महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्नुभयो।
विद्यालयले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै विद्यार्थीलाई समाजप्रति उत्तरदायी नागरिकका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।