×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख ईम्तियाज आलमले निजी विद्यालय र अभिभावकबीच उत्पन्न हुने जुनसुकै समस्याको समाधानका लागि महानगरपालिका सदैव सकारात्मक र निष्पक्ष भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साद्वारा वीरगञ्जस्थित होटल भिस्वामा आयोजित ‘एसईई–२०८२ एक्सीलेन्स अनर अवार्ड’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले महानगरभित्र कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नहुनेमा जोड दिए।

कार्यवाहक प्रमुख आलमले विद्यालय र अभिभावकबीच विभिन्न समयमा देखिने समस्या आपसी समझदारीबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै अभिभावकले विद्यालयको अवस्था बुझ्नुपर्ने र विद्यालयले पनि अभिभावकको पीडा तथा आर्थिक अवस्था बुझ्नुपर्ने बताए। उनले विद्यार्थी, विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यबाट मात्रै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने उल्लेख गर्दै शिक्षासम्बन्धी जुनसुकै विवाद वा समस्यामा महानगरपालिका मध्यस्थता र समाधानका लागि सदैव तयार रहने स्पष्ट पारे।

उक्त कार्यक्रममा एसईई–२०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका नेशनल प्याब्सनसँग आबद्ध २० वटा विद्यालयका ५६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। पर्सा जिल्लाभर ४.०० जीपीए प्राप्त गर्न सफल जी.एच.पी. विद्यालयका ६ जना तथा कादम्बरी स्कुलका २ जना विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरू अध्ययनरत विद्यालयलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

सम्मानित विद्यार्थीहरूलाई खादा, टीका र सम्मानपत्र प्रदान गरिएको कार्यक्रममा वक्ताहरूले उनीहरूको सफलता कडा मेहनत, अनुशासन, शिक्षकको समर्पण र अभिभावकको सहयोगको प्रतिफल भएको बताएका थिए।

कार्यक्रमका अध्यक्ष तथा नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले निजी विद्यालयप्रतिको जनविश्वास थप मजबुत भएको बताए। उनले विद्यार्थीको सफलता विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय, व्यावहारिक तथा प्रतिस्पर्धात्मक शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए।

नेशनल प्याब्सन नगर कार्य समिति पर्साका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Back to top