×

वीरगञ्ज । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेजमा शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा गुणस्तरीय शिक्षण–सिकाइलाई अझ प्रभावकारी बनाउने उद्देश्यले चार दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

कलेजका सम्पूर्ण शिक्षकहरूको सहभागिता रहेको उक्त तालिमको उद्घाटन कलेजका संस्थापक डा. दीपक शाक्य, डा. अरविन्द श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा गरिएको हो । कलेज प्रशासनका अनुसार तालिम लगातार चार दिनसम्म सञ्चालन हुनेछ ।

तालिममा शिक्षकहरूको व्यक्तिगत तथा व्यावसायिक विकाससँग सम्बन्धित विभिन्न समसामयिक विषयमा प्रशिक्षण प्रदान गरिनेछ । दिगो विकास, सामाजिक प्रभाव, दिगो सामाजिक परिवर्तनका लागि परियोजना निर्माण, प्रभावकारी सिकाइ, सकारात्मक कार्यशैली, आत्ममूल्याङ्कन, आत्म–नेतृत्व, सहकार्यात्मक नेतृत्व, प्रभावकारी सञ्चार, रचनात्मक सुझाव तथा प्रतिक्रिया आदान–प्रदान, समूहमा काम गर्ने सीप, सकारात्मक सोच र दृष्टिकोण, परिवर्तन व्यवस्थापन, नैतिक मूल्य तथा व्यवहार, स्पष्ट उद्देश्य, समन्वय, प्रतिबद्धता र व्यक्तिगत रूपान्तरणलगायतका विषय तालिमका मुख्य आकर्षण रहनेछन् ।

त्यसैगरी, तालिममा दिगो विकास लक्ष्यअन्तर्गत सभ्य रोजगारी तथा आर्थिक समृद्धि, उद्योग, नवप्रवर्तन तथा पूर्वाधार विकास, जलवायु संरक्षण, जलमुनिको जीवन संरक्षण, स्थलमाथिको जैविक विविधता संरक्षण, जिम्मेवार उत्पादन तथा उपभोग, शान्ति, न्याय र सबल संस्थाको निर्माण तथा लक्ष्य प्राप्तिका लागि साझेदारीजस्ता विषयमा विस्तृत छलफल तथा व्यवहारिक अभ्यास पनि गराइने कलेजले जनाएको छ ।

कलेज प्रशासनका अनुसार तालिमको प्रमुख उद्देश्य शिक्षकहरूको नेतृत्व क्षमता, व्यावसायिक दक्षता, सृजनशीलता, सहकार्य गर्ने क्षमता तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिलाई अझ सुदृढ बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जिम्मेवार र सक्षम शिक्षक तयार गर्नु हो ।

तालिम सम्पन्न भएपछि सहभागी शिक्षकहरूले प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, आधुनिक, अनुसन्धानमुखी तथा परिणाममुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास कलेजले व्यक्त गरेको छ ।

Back to top