एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी सडक विस्तारका क्रममा नालाहरू जाम हुँदा शुक्रबार राति परेको वर्षापछि सहरका विभिन्न मुख्य चोक जलमग्न भएका छन्। घर भत्काउँदा निस्किएको भग्नावशेष (मलबा) समयमै व्यवस्थापन हुन नसक्दा पानीको निकास अवरुद्ध भई मुडली, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोकलगायतका क्षेत्रमा डुबान भएको हो।
वर्षापछि सडक तथा चोकहरूमा पानी जमेर आवागमन प्रभावित भएपछि वीरगञ्ज महानगरपालिकाले शुक्रबार बिहानैदेखि पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन गरेको छ।
एक्सन टिमका संयोजक सरफुदिन मियाँको नेतृत्वमा प्राविधिक तथा सरसफाइ कर्मचारीहरूको टोली प्रभावित क्षेत्रमा खटिएको छ। महानगरले नाला सफाइ तथा पानी निकासका लागि तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर र एक दर्जनभन्दा बढी सरसफाइकर्मी परिचालन गरेको जनाएको छ।
संयोजक मियाँका अनुसार सडक विस्तारका क्रममा घरहरू भत्काउँदा निस्किएका ढुङ्गा, इँटा तथा माटोका मलबा नालामा जम्मा भएकाले पानीको बहाव अवरुद्ध भएको हो। नाला जाम हुँदा रातभर परेको वर्षाको पानी सहज रूपमा बग्न नसकेको उनले बताए।
उनका अनुसार प्रभावित क्षेत्रमा नाला सफाइ र अवरुद्ध पानीको निकास खुलाउने काम तीव्र रूपमा भइरहेको छ। नागरिकलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले महानगरको टोली निरन्तर खटिएको उनले जानकारी दिए।
सडक विस्तारसँगै सडक किनारमा थुप्रिएको मलबा तथा छरिएका विद्युत् र इन्टरनेटका तारका कारण सहरका विभिन्न स्थानमा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। हिलो, जलजमाव र अव्यवस्थित पूर्वाधारका कारण दैनिक आवागमनसमेत प्रभावित बनेको छ।
वीरगञ्ज महानगरपालिकाले नाला सफाइलाई तीव्रता दिँदै पानीको सहज निकास सुनिश्चित गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको जनाएको छ। साथै, सडक विस्तारका क्रममा निस्किएको मलबाको व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाइएको महानगरले जनाएको छ।