×

वीरगञ्ज । बाढी पूर्वानुमान महाशाखाले आज देशका ११ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको बाढी पूर्वानुमान सूचनाअनुसार इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लालगायत आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको तटीय क्षेत्र, डुबान हुन सक्ने स्थान र कमजोर भू–भागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

यस्तै, वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह एक्कासि बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

मनसुन सक्रिय रहेकाले आगामी केही दिन पनि मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सम्बन्धित निकायले सबैलाई अनुरोध गरेको छ।

Back to top