×

वीरगञ्ज । सरकारले शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ स्वीकृत गर्दै गाउँ तथा नगर शिक्षा समितिको सचिवालय अबदेखि सम्बन्धित स्थानीय तहमा रहने व्यवस्था गरेको छ। नयाँ व्यवस्थासँगै यसअघि विद्यालयमा सञ्चालन हुँदै आएको गाउँ शिक्षा समितिको कार्यालय अब स्थानीय तहबाट सञ्चालन हुने भएको छ।

संशोधित शिक्षा नियमावलीअनुसार नियम २१ (क) मा गाउँ वा नगर शिक्षा समितिको सचिवालय सम्बन्धित स्थानीय तहमा रहने स्पष्ट व्यवस्था गरिएको छ।

यसअघि लागू रहेको शिक्षा नियमावलीमा गाउँ शिक्षा समितिको कार्यालय सम्बन्धित गाउँ विकास समितिको क्षेत्रभित्र रहेको कुनै विद्यालयमा रहने व्यवस्था थियो। नयाँ संशोधनले उक्त व्यवस्था परिवर्तन गर्दै स्थानीय तहलाई नै सचिवालयको जिम्मेवारी दिएको हो।

नियमावलीमा स्थानीय तहको शिक्षा हेर्ने शाखाले गाउँ वा नगर शिक्षा समितिको सचिवालयका रूपमा कार्य गर्ने उल्लेख गरिएको छ। साथै, गाउँ वा नगर शिक्षा समितिका अन्य काम, कर्तव्य र अधिकार सम्बन्धित स्थानीय कानुनले तोकेबमोजिम हुने व्यवस्था पनि गरिएको छ।

सरकारको यो व्यवस्थासँगै स्थानीय तहको शिक्षा प्रशासनलाई थप व्यवस्थित, प्रभावकारी तथा संस्थागत बनाउने अपेक्षा गरिएको छ। शिक्षा व्यवस्थापन, समन्वय तथा निर्णय प्रक्रियालाई स्थानीय सरकारसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले नियमावलीमा संशोधन गरिएको जनाइएको छ।

Back to top