×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई चालु असार महिनाभित्रै पूर्ण साक्षर पालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले यसका लागि आवश्यक प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको जनाएको छ।

बुधबार युवालयको आयोजनामा सम्पन्न ‘बाल अधिकार संरक्षण र संवर्द्धनमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले महानगरका कुल ३२ वडामध्ये २७ वटा वडा साक्षर घोषणा भइसकेको र बाँकी ५ वटा वडा पनि अन्तिम चरणमा रहेको जानकारी दिए।

उनका अनुसार २२ वटा वडाले तोकिएको मापदण्ड पूरा गरी साक्षरता हासिल गरिसकेका छन् भने ५ वटा वडा अघिल्लो नगर प्रमुखको कार्यकालमै साक्षर घोषणा भइसकेका थिए। हाल बाँकी रहेका ५ वडामा आवश्यक प्रक्रिया पूरा गर्ने काम अन्तिम चरणमा पुगेकाले यसै असारभित्रै वीरगञ्ज महानगरलाई पूर्ण साक्षर घोषणा गरिने प्रमुख लामिछानेले बताए।

नेपाल सरकारको मापदण्डअनुसार १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत व्यक्ति साक्षर भएमा स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गर्न सकिने कानुनी व्यवस्था छ। महानगरमा रहेका आठ सामुदायिक सिकाइ केन्द्रमध्ये हाल सक्रिय रहेका छ केन्द्रलाई परिचालन गरी साक्षरता अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ।

महाशाखा प्रमुख लामिछानेले महानगरपालिकाले १० वर्षे शिक्षा योजना निर्माणको कामसमेत अघि बढाइरहेको जानकारी दिँदै विषयगत शिक्षकको अभावका कारण सामुदायिक विद्यालयमा पठनपाठन केही प्रभावित भइरहेको उल्लेख गरे।

सोही कार्यक्रममा महिला विकास अधिकृत रञ्जना पण्डितले बाल उद्धार कोष स्थापना भए पनि जनप्रतिनिधिको पर्याप्त सहयोग नपाउँदा त्यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिएको गुनासो गरिन्।

त्यस्तै, शिक्षाका लागि राष्ट्रिय अभियानका अभियन्ता राम प्रवेश साहले बालअधिकारसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था पर्याप्त भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताए। उनले बालअधिकारको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमको सहजीकरण युवालयका राहुल साहले गरेका थिए।

Back to top