×

वीरगञ्ज । पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत "पशु ढुवानी मापदण्ड–२०६४ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग अन्तरक्रिया" कार्यक्रम सम्पन्न गरेको छ।

बाराको पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रको प्रशिक्षण हलमा आयोजित कार्यक्रममा पशु ढुवानीलाई व्यवस्थित, सुरक्षित, मानवीय तथा कानुनी मापदण्डअनुसार सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच विस्तृत छलफल गरिएको थियो।

पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. राकेश मोहन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु ढुवानीका क्रममा पालना गर्नुपर्ने कानुनी व्यवस्था, पशु कल्याण तथा न्यूनतम मापदण्डको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनका तर्फबाट ट्राफिक प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज थपलिया, प्रहरी निरीक्षक विदुरचन्द्र धमला, प्रहरी हवल्दार गणेशलाल तेली तथा प्रहरी जवान राजाबाबु साह लगायतको उपस्थिति रहेको थियो।

सुरक्षा अधिकारीहरूले मापदण्डविपरीत हुने पशु ढुवानी नियन्त्रण गर्न तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसैगरी जितपुर बजारका व्यवसायी तथा सरोकारवालाहरू जाहिद आलम, मनोज पासवान, कलाम खाँ पैठान, सलाउद्दिन अन्सारी, सद्दाम हुसेन तथा जितपुर–सिमरा उपमहानगरपालिकाका पशु चिकित्सक डा. सुवाश झाको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले पशु ढुवानीका क्रममा भोग्नुपरेका व्यावहारिक समस्याहरू राख्दै कानुनी मापदण्डको पालना गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका थिए।

अन्तरक्रिया कार्यक्रममा डा. राकेश मोहन सिंहले प्रोजेक्टरमार्फत कार्यपत्र प्रस्तुत गर्दै पशु ढुवानी गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड, पशु कल्याणका आधारभूत सिद्धान्त तथा विद्यमान कानुनी व्यवस्थाबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रमको समापनपछि सहभागी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, व्यवसायी तथा अन्य सरोकारवालाले "पशु ढुवानी मापदण्ड–२०६४ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग अन्तरक्रिया" लेखिएको ब्यानरसहित सामूहिक तस्बिर खिचाएका थिए।

सहभागीहरूले पशु ढुवानीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन यस्ता सचेतनामूलक तथा समन्वयात्मक कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

Back to top