×

वीरगञ्ज । वीरगञ्जस्थित हरी खेतान क्याम्पसमा टाइम रिलिज स्टडी तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पसका २० जना छात्रछात्राले सहभागिता जनाएका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रशिक्षण अत्यन्तै लाभदायक, ज्ञानवर्द्धक तथा व्यवहारिक अनुभव हासिल गर्न सहयोगी भएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा भन्सार प्रमुख काजी बाबु कोईराला उपस्थित थिए भने विशिष्ट अतिथिका रूपमा भन्सार कार्यालयका लेखनाथ भट्टराई तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको सहभागिता रहेको थियो।

त्यसैगरी डा. रामअवतार सोतान, उद्योग वाणिज्य संघका प्रमुख हरी गौतम, खेतान व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान, रामअवतार खेतान लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै उनीहरूलाई जनही रु. ७,५०० का दरले नगद प्रोत्साहन रकम समेत वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेतान व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानले यस्ता शैक्षिक तथा व्यवहारिक अध्ययनमूलक कार्यक्रमहरूले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै उनीहरूको शैक्षिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक ज्ञान र सीप हासिल गर्न प्रेरित गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

Back to top