वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभाको २० औँ अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन्।
महानगरले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि झण्डै एक अर्ब १९ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरको बजेट तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ रहेको थियो।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ पाँच करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ।
महानगरले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतबाट आम्दानी जुटाउने लक्ष्य राखेको छ। संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट एक अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार रुपैयाँ तथा प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी घरजग्गा रजिष्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ।
बजेट प्रस्तुत गर्दै नगर कार्यपालिका सदस्य कानुले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि, पर्यटन, उद्योग प्रवर्द्धन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण तथा प्रविधिमा आधारित सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।
यसअघि नगरसभामा कार्यवाहक मेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आलमकै अध्यक्षतामा सम्पन्न नगरसभाको २० औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्यहरू, महानगरका ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरू, कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो।
महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत विकास निर्माण, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।