×

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि करिब ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन्। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले केन्द्रीय सदस्य पदका लागि ठूलो संख्यामा उम्मेदवारी परेको जानकारी दिएका हुन्।

उनका अनुसार उम्मेदवारहरूको यकिन संख्या निर्धारण गर्ने काम जारी रहेकाले अन्तिम विवरण सार्वजनिक हुन बाँकी छ। “केन्द्रीय सदस्यका लागि करिब चार सय जनाको मनोनयन दर्ता भएको छ। दर्ता भएका उम्मेदवारहरूको संख्या निश्चित गर्न सूची तयार गर्ने काम भइरहेको छ,” केसीले बताए।

निर्वाचन आयोगले बिहान ९ बजेदेखि मतदान सुरु गर्ने योजना बनाएको भए पनि उम्मेदवारहरूको प्रारम्भिक सूची तयार गर्न समय लागेकाले मतदान प्रक्रिया बिहान साढे १०ः३० बजेतिरबाट मात्र सुरु हुने तयारी गरिएको जनाएको छ।

मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरिएको छ। आयोगका अनुसार एक प्रतिनिधिले मतदान गर्न करिब १५ देखि २० मिनेट समय लाग्ने अनुमान गरिएको छ। मतदान सम्पन्न भएको एक घण्टाभित्रै नतिजा सार्वजनिक गर्न सकिने तयारी मिलाइएको छ।

यसअघि रास्वपाको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। केन्द्रीय सदस्यहरूको चयन सम्पन्न भएपछि पार्टीको विधानअनुसार पदाधिकारीहरूको निर्वाचन प्रक्रिया अघि बढाइनेछ। सभापति र केन्द्रीय सदस्यहरूको टुंगो लागेपछि मात्रै महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ।

रास्वपाले केन्द्रीय सदस्य र पदाधिकारी दुवै तहको निर्वाचन आजै सम्पन्न गरी नतिजा पनि आजै सार्वजनिक गर्ने लक्ष्य लिएको जनाएको छ।

असार ७ गतेदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशन असार ९ गतेभित्र सम्पन्न गर्ने योजना थियो। तर प्रतिनिधि चयनमा देखिएको प्राविधिक समस्याका कारण प्रक्रिया लम्बिँदा महाधिवेशन पनि निर्धारित समयभन्दा पछिसम्म जारी रहन पुगेको हो।

महाधिवेशनमा देशभरबाट करिब ४ हजार प्रतिनिधिको सहभागिता रहेको छ। रास्वपाको विधानअनुसार पार्टीमा १९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। तीमध्ये ९९ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

महाधिवेशनको अन्तिम चरणमा प्रवेश गरेको रास्वपाले आजको निर्वाचनमार्फत नयाँ नेतृत्व संरचनालाई पूर्णता दिने तयारी गरेको छ।

Back to top